Home मुख्य समाचार रुपचन्द्र विष्टको नाममा ‘थाहा मार्ग’ निर्माण गर्छौं : मुख्यमन्त्री बानियाँ

रुपचन्द्र विष्टको नाममा ‘थाहा मार्ग’ निर्माण गर्छौं : मुख्यमन्त्री बानियाँ

थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ।

हेटौंडा : बागमती प्रदशेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले थाहा नगरलाई छिमेकी पालिकाहरुसँग जोड्न ‘रुपचन्द्र विष्ट थाहा मार्ग’ निर्माण गर्ने घोषणा गर्नुभएको छ । मुख्यमन्त्री बानियाँले थाहा नगरपालिकासँग सिमाना जेडिएका अन्य ३ पालिका समेटेर ‘रुपचन्द्र विष्ट थाहा मार्ग’ निर्माण गर्ने बताउनुभएको हो ।

थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले विकट क्षेत्रका जनतालाई जिल्लाको अन्य भू–भागसँग जोड्ने र स्थानीयको जीवनस्तर उकास्न प्रदेश सरकार प्रयत्नरत रहेको बताउनुभयो । रुट निर्धारण गरी ‘रुपचन्द विष्ट थाहा मार्ग’ नामाकरणसहित प्रदेश सरकारको अधिकार प्रयोग गर्दै उक्त मार्ग निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने उहाँको भनाइ छ । सो कार्य नगरपालिका तथा सम्बन्धित ३ वटा गाउँपालिकासँग समन्वय गर्दै अघि बढाउने र सबै पालिकाहरुको पूर्ण सहमति लिएर मार्ग निर्माण प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो ।

‘प्रदेश सरकारको पहलमा थाहा नगरपालिकालाई कैलाश, राक्सिराङ र मनहरी गाउँपालिकासँग जोड्ने गरी ‘रुपचन्द्र विष्ट थाहा मार्ग’ निर्माण गर्नेछौं’, मुख्यमन्त्री बानियाँले भन्नुभयो– ‘विकट क्षेत्रका जनतालाई जिल्लाको अन्य भू–भागसँग जोड्ने र स्थानीयको जीवनस्तर उकास्ने उद्देश्यले प्रदेश सरकारले सम्बन्धित पालिकाहरुसँग समन्वय गरेर मार्ग निर्माणको काम अघि बढाउँछ ।’
थाहा नगरपालिका ऐतिहासिक र विचारशील व्यक्तित्व रुपचन्द बिष्टसँग गहिरो रूपमा जोडिएको उहाँले बताउनुभयो । रुपचन्द्र विष्टले समानता, समान अवसर र प्रजातन्त्रमा गहिरो विश्वास राख्ने गरेको मुख्यमन्त्री बानियाँले बताउनुभयो । रुपचन्द बिष्टको दर्शन आज पनि सान्दर्भिक रहेको उहाँको भनाइ छ । उहाँका अनुसार गाउँमुखी, जनमुखी, सेवामुखी, न्यायमुखी र विकासमुखी अभियान अन्तर्गतको सरकारले विकास र सेवाका योजना सफलतापूर्वक कार्यान्वयन गर्नेछ ।

सोही अवसरमा मुख्यमन्त्री बानियाँले महिला स्वास्थ्य स्वयम्सेविकाहरुले पाइरहेको सुविधा अपर्याप्त रहेको बताउनुभयो । आगामी आर्थिक वर्षमा महिला स्वास्थ्य स्वयम्सेविकाहरुको सुविधा र भत्ता वृद्धि गर्ने प्रतिवद्धतासमेत उहाँले व्यक्त गर्नुभयो । मुख्यमन्त्री बानियाँले राजनीति पैसा कमाउन नभई जनताको सेवा गर्नका लागि भएको बताउनुभयो । सरकारले कसैलाई अन्याय हुन नदिने र सबैलाई समान न्याय प्रदान गर्ने मुख्यमन्त्री बानियाँले बताउनुभयो । आफ्नो सचिवालय र निवासको खर्च ५० प्रतिशत कटौती गरेर बचेको रकम जनताको सेवामा खटिनेहरूका लागि लगानी गर्ने उहाँको भनाइ छ ।

‘मैले मुख्यमन्त्री भएलगत्तै संसद्मा बोल्दै सचिवालय र निवासको खर्च ५० प्रतिशत कटौती गर्ने घोषणा गरेको छु । त्यो खर्च किन कटौती गरेको भन्दा, जनताको सेवामा खटिनेहरुको सुविधामा थप्नको लागि हो । मैले आफ्नो निर्वाचन क्षेत्रको एक गरिब तथा विपन्न परिवारको लागि दशैँ अगाडि एउटा घर बनाएर हस्तान्तरण गर्ने प्रतिबद्धता गरेको छु र त्यो पूरा गरेरै छाड्छु । हामीले राजनीति गरेको भनेकै समाज र गरिब जनताको सेवा गर्न हो ।’ उहाँले भन्नुभयो ।

Exit mobile version