Home मुख्य समाचार भरपर्दो सडकको चाहना

भरपर्दो सडकको चाहना

गत शुक्रबार र शनिबार हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको सडक अवरुद्ध भयो । शुक्रबार अपराह्न परेको पानीले हेटौंडाबाट ५ किलोमिटर उत्तरमा रहेको बाघझोरामा केही घण्टा सडक अवरुद्ध भएको बाघझोराको अवरोध खुलेलगत्तै नजिकै पहिरो खसेर रातभर र शनिबार अपराह्नसम्म उक्त सडक–खण्ड बन्द हुँदा सयौं सवारी साधन अलपत्र परे भने हजारौं यात्रुको बिचल्ली भयो । हेटौंडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाडौं आवतजावत गर्ने सवारी साधन चल्न सकेनन् । ठूलो पानी पर्नेबित्तिकै बाघझोरामा बाढीले सडक अवरुद्ध भएर दशकौंदेखि हैरानी खेपिरहेकाहरुले तीनै तहको सरकारलाई सम्झे । देशकै पहिलो राजमार्गको एउटा खहरे खोलामा नियमित यातायात सञ्चालनको व्यवस्था गर्न नसक्ने सरकारलाई धेरैले गाली पनि गरे ।

संघीय राजधानी र प्रदेश राजधानी जोड्ने छोटो दुरीको सडक–खण्डको यो दुरावस्थाले विशेषगरी संघ र प्रदेश सरकारलाई गिज्याइरहेको छ । देशको राजधानी काठमाडौं र काठमाडौं भएको प्रदेशको राजधानी हेटौंडाबिच भरपर्दो सडक सञ्जालको आवश्यकता पुनः महसुस गराएकै दिन हेटौंडा–काठमाडौं पोडवे सञ्चालनको सम्भाव्यता अध्ययनका लागि स्वीकृति दिने निर्णय लगानी बोर्डले गरेको समाचार सार्वजनिक भयो । हेटौंडा–काठमाडौं जोड्ने चलनचल्तीका सडक आधा दर्जनभन्दा बढी सडक भए पनि स्तरीय र भरपर्दो एउटै छैनन् । जसरी दशकौंदेखि हेटौंडा बजार क्षेत्रको सडक विस्तारको चर्चामात्रै हुने गरेको छ, त्यसरी कुनै समय हेटौंडा–काठमाडौं सुरुङमार्गको निकै चर्चा हुने गरेको थियो । भीमफेदीदेखि कुलेखानीसम्म सुरुङ बनाएर हेटौंडा–काठमाडौं दु्रतमार्ग निर्माण गर्नका लागि कम्पनी स्थापना गरेर ३० करोड रुपैयाँभन्दा बढी रकम संकलन गरेको भए पनि अहिले कम्पनी नै गुमनाम छ । त्यही सुरुङ बागमती प्रदेश सरकारले बनाउने चर्चा पनि केही वर्ष चलेको थियो ।

नेपालमा सार्वजनिक यातायातको दृष्टिकोणबाट हेर्दा मकवानपुर र हेटौंडा निकै भाग्यमानी मानिन्छ । नेपालको मात्र नभई दक्षिण एसियाकै पहिलो सुरुङमार्ग दावी गरिएको चुरियामाई सुरुङ हेटौंडामै छ । देशकै पहिलो राजमार्ग त्रिभुवन राजपथको अधिकांश भाग मकवानपुर जिल्लामा पर्छ । राणा शासनकालदेखि नै भीमफेदीको धोर्सिङदेखि काठमाडौंसम्म रोपवे चलेको थियो । पछि उक्त रोपवेलाई विस्तार र आधुनिकीकरण गरेर हेटौंडादेखि काठमाडौंसम्म सञ्चालन गरियो । त्यही रोपवेकै क्षेत्राधिकारको जग्गा प्रयोग गरेर नयाँ प्रविधिको यातायात ‘पोडवे’ निर्माणको सम्भाव्यता अध्ययन हुन लागेको छ । देशकै पहिलो द्रुतमार्ग (काठमाडौं–निजगढ)को अधिकांश भाग मकवानपुरमै पर्छ । ६६ वर्षअघि राजा महेन्द्रले आफैं गाडी चलाएर काठमाडौंबाट हेटौंडा ल्याएको भनिएको कान्ति लोकपथ अझै निर्माण भइरहेको छ । देशकै सबैभन्दा लामो, सबैभन्दा व्यस्त र एसियन हाइवेको मान्यता पाएको पूर्वपश्चिम राजमार्ग पनि हेटौंडा भएरै गएको छ । पछिल्लो समय निर्माण भएको मदन भण्डारी राजमार्गले पनि हेटौंडालाई पूर्व र पश्चिमसँग जोडेको छ ।

हेटौंडा–काठमाडौं आवतजावत गर्ने एउटा भरपर्दो सडकको चाहना नागरिकले राख्नु स्वभाविक हो । भविष्यमा हेटौंडालाई काठमाडौं–निजगढ दु्रतमार्गसँग जोडेर उक्त सडक सञ्चालनमा आएपछि हेटौंडा–काठमाडौंबिचको आवागमन पक्कै सहज होला । तर, दु्रतमार्ग कहिले बनिसक्ने ठेगान नभएको अवस्थामा तत्काल सञ्चालनमा रहेको कान्तिलोकपथ वा अर्को छोटो दुरीको सडकलाई स्तरीकरण गरी भरपर्दो बनाउनु अहिलेको टड्कारो आवश्यकता हो । सरकारले धेरैवडा सडकमा थोरै–थोरै बजेट खर्च गरेर सबै सडक अलपत्र बनाउनुभन्दा एउटा सडक चाँडो स्तरीकरण गर्नु उचित हुनेछ ।

Exit mobile version