
हेटौँडा : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निजी क्षेत्रसँग मिलेर काम गर्ने उद्घोष गर्नुभएको छ । बुधबार मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्मयन्त्री बानियाँले निजी क्षेत्र, सहकारी र सरकार मिलेर काम गर्नुपर्ने औँल्याउनुभयो ।
निजी क्षेत्रले रोजगारी सिर्जना गर्नुपर्ने उल्लेख गर्नुहुँदै जनताको समृद्धिको आधार प्रदेश सरकार हुने दावी समेत गर्नुभयो । संघीय सरकार र स्थानीय सरकारसँग समन्वय गरेर प्रदेश सरकार यस्तो हुन्छ भनेर देखाउने इच्छा भएको मुख्यमन्त्री बानियाँले बताउनुभयो । निजी क्षेत्रसँग सल्लाह गरेर करको दर नभई दायरा बढाएर आम्दानी बढाउने योजना पनि मुख्यमन्त्री बानियाँले प्रस्तुत गर्नुभयो । हुनेखानेसँग कर लिएर हुँदा खानेको सेवा, सुविधा उपलब्ध गराउने बताउनुहुँदै मुख्यमन्त्री बानियाँले भन्नुभयो, ‘म पनि व्यवसायी पृष्ठभूमिकै मान्छे हुँ । मेरो नेतृत्वको सरकारले निजी क्षेत्रलाई अन्याय हुने गरी काम गर्नेछैन ।’
हेटौँडा बजारको सडकको विषय आफ्नै कार्यकालमा उचित निर्णय गर्ने आश्वासन पनि उहाँले दिनुभयो । व्यवसायीको पीडा, समस्या बुझेको उल्लेख गर्नुहुँदै मकवानपुरको मयुरधाप र चितवनको शक्तिखोर औद्योगिक क्षेत्र विकास गरी उद्योग स्थापनासँगै रोजगारीको अवसर सिर्जना गर्ने उहाँले बताउनुभयो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा बजार खण्डको सडक विस्तारको विषयलाई छिटो टुंग्याउने, बजार क्षेत्रको सडक १६ मिटर कायम गरी मयुरधापबाट बाइपास सडक निर्माण गर्ने मुख्यमन्त्री बानियाँले बताउनुभयो । प्रदेश सरकार सकसपूर्ण अवस्थामा रहिरहेको उल्लेख गर्नुहुँदै आफू नेतृत्वको प्रदेश सरकारले आफ्नो खर्च घटाउने पनि मुख्यमन्त्री बानियाँले जीकिर गर्नुभयो ।
मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन कुमार श्रेष्ठले महासंघ प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो । संघीय राजधानीसँग जोड्ने सडकमार्गलाई सहज बनाउन ध्यानाकर्षण गराउनुहुँदै उहाँले बजेटमा काठमाडौंबाट उद्योग सार्ने विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । काठमाडौं उपत्यकाका उद्योगी नजिकै उपयुक्त स्थानमा व्यवस्थापन होस् भन्ने अपेक्षा गरेको बताउनुहुँदै मयुरधाप र शक्तिखोर औद्योगिक क्षेत्र तयार पार्न प्रदेश सरकारले पहल गर्नुपर्ने माग गर्नुभयो । प्याकेजिङ कम्पनीमा वातावरण कर लगाएर लागत बढाउने काम भएको भन्दै उहाँले करको विषयमा पुनर्विचान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले संघको तर्फबाट प्रदेश सरकारलाई उद्योग तथा वाणिज्य क्षेत्रको सरोकारका विषयमा जानकारी गराउनुहुँदै मुख्यमन्त्री बानियाँलाई लिखित सुझाव समेत पेश गर्नुभएको छ । अध्यक्ष रानाभाटले उद्योग र व्यापारको क्षेत्र अन्यत्न गम्भीर अवस्थामा रहेकोले प्रदेश सरकारले उद्योगी, व्यवसायीको संरक्षण र विस्तारमा सहयोग गर्नुपर्ने बताउनुभयो ।