Home मुख्य समाचार बालबालिकासँग शब्दको सावधानी र विद्यालयमा व्यवहारको महत्व

बालबालिकासँग शब्दको सावधानी र विद्यालयमा व्यवहारको महत्व

मसिना आँखाहरुले दिन रात तपाईंलाई नियालिरहेका छन्,
साना कानहरुले तपाईंका हरेक शब्द झर्न नपाउँदै टपक्क टिप्दछन्,
कलिला हातहरु तपाईंले गरेका हरेक काम गर्न सल्बलाइरहन्छन्
र, ती साना बालबालिकाले तपाईं जस्तै हुने सपना बुनिरहेका छन् ।

निर्णय आफैं गर्नुहोस्, अब तिनका अगाडि तपाईं कसरी प्रस्तुत हुने ?
तिनका लागि तपाईंले कस्तो निर्णय गर्ने ?

सानो बालबालिका संसार बुझ्ने क्रममा हुन्छन् । उनीहरूको मन कोरा कापी हो, जहाँ शिक्षक–अभिभावकले लेख्ने प्रत्येक अक्षर भविष्यको अनुहार बन्छ । त्यसैले उनीहरूले सुन्ने प्रत्येक शब्द, देख्ने व्यवहार र अनुभव गर्ने वातावरणले गहिरो छाप पार्छ ।

यस्तै एउटा अनुभव मैले आफ्नै सानो छोरामार्फत भोगेँ । मेरो साढे ३ वर्षको छोरा खुसी हुँदै दैनिक रूपमा स्कूल जान्थ्यो, साथीहरूसँग खेल्थ्यो, गीत गाउँथ्यो र रमाउँथ्यो । तर एक दिन स्कूलबाट फर्किँदै गर्दा ऊ एक्कासी रोयो । घर पस्नासाथ उसले भनी हाल्यो, ‘हामी मर्छौं रे अब ।’ त्यो सुन्दा हामी स्तब्ध भयौं, अतालियौं पनि । किनभने मृत्यु भन्ने शब्द त उसलाई बुझ्नै नसक्ने थियो, तर डरको छाया उसका आँखामा देखिन्थ्यो । पछि बुझ्दा थाहा भयो, उसको विद्यालयले ‘हजुरबुवा हजुरआमा विशेष कार्यक्रम’ मा गाउन एउटा भजन सिकाएको रहेछ, जसको पंक्तिमा भनिएको थियो, ‘मर्ने बेला भैसक्यो कहिले जप्ने राम…।’
हामी वयस्कका लागि यो पंक्ति धार्मिक आस्था वा आध्यात्मिक चेतना जगाउने हुन सक्छ, तर बालबालिकाका लागि यो शब्दहरू भारी हुन्छन् । उनीहरूलाई मृत्यु, अन्त्य, डर जस्ता विषयले गहिरो प्रभाव पार्छ । उनीहरूको बालमनोविज्ञानमा डरको बीउ रोप्नु, हाम्रो गल्ती हो ।

विद्यालय भनेको केवल ज्ञान दिने संस्था होइन, जीवनलाई आकार दिने कारखाना हो । बच्चा पहिलो पटक अनुशासन, समूहमा बस्ने तरिका, आफ्नो भावनालाई व्यक्त गर्ने बाटो यतै सिक्छ । शिक्षकले प्रयोग गर्ने शब्द, सिकाउने शैली, गीत वा कविता यी सबैले उनको मनोविज्ञानमा स्थायी असर पार्छन् । विद्यालयमा प्रयोग हुने गीत, भजन, कविता, कथा बालमैत्री र उमेर अनुकूल हुनुपर्छ । मृत्यु, डर, असफलता, पाप–पूण्य जस्ता भारी विषयभन्दा माया, मित्रता, आत्मविश्वास, मिहिनेत, सचेतना जस्ता सकारात्मक विषयलाई प्राथमिकता दिनुपर्छ ।

शिक्षकले बालबालिकालाई सधैं सकारात्मक ऊर्जा दिने भाषा प्रयोग गर्नुपर्छ । ‘तिमी राम्रो गर्दैछौ’, ‘तिमी सक्छौ’, ‘गल्ती सिकाइको अर्को ढोका हो’ भन्ने शब्दले उनीहरूको आत्मबल बढ्छ । कक्षामा केवल पढाउने होइन, सुन्ने वातावरण बनाउनु महत्वपूर्ण छ । जब बच्चा केही भन्न खोज्छ, धैर्यतापूर्वक सुन्नु नै उसको सम्मान हो । विद्यालयमा कराएर, अपमान गरेर वा डर देखाएर सिकाउने परम्परा अझै कतै कतै जीवित छ । तर यसले शिक्षा होइन, भयको संस्कार बसाल्छ ।

घरमा अभिभावक र विद्यालयमा शिक्षक, दुवै बालबालिकाका लागि आदर्श हुन्छन् । उनीहरूले घरमा सिकेको संस्कार विद्यालयमा देखाउँछन्, विद्यालयमा सिकेको व्यवहार घरमा ल्याउँछन् । त्यसैले घर र विद्यालयबीच समन्वय जरुरी छ । घरमा बच्चालाई प्रश्न सोध्न प्रोत्साहित गरौं, विद्यालयमा उनीहरूको जिज्ञासा सुन्न उत्साहित गरौं । घरमा तुलना नगरी आफ्नै क्षमतामा हौसला दिऔं, विद्यालयमा पनि अंकको आधारमा मात्र होइन, प्रयासको आधारमा प्रशंसा गरौं ।

विद्यालयका शिक्षक र घरका अभिभावकबीच खुला संवाद हुनुपर्छ, ताकि बच्चा दुई फरक संसारमा हैरान नहोस् । बालबालिका कोरा माटो हुन्, जसलाई जसरी मोलिन्छ, भविष्य त्यस्तै बन्ने गर्छ । विद्यालयमा शिक्षकका शब्दहरू, व्यवहार र सिकाउने शैली नै उनीहरूको जीवनको आधारशिला हुन्छ । त्यसैले चाहे घर होस् वा विद्यालय, बालबालिकासँग माया, धैर्य, सकारात्मक शब्द र आत्मीयता प्रयोग गरौं । हामी वयस्कका लागि साधारण लाग्ने एक वाक्य, बालबालिकाको मनमा आजीवन असर पार्न सक्छ । त्यसैले विद्यालयका कार्यक्रम, गीत–संगीत, कथा–कविता चयन गर्दा अझ सचेत बन्नुपर्छ । बालबालिकाले डर होइन, आशा, आत्मविश्वास र उज्यालो भविष्य बोकेर हुर्कून् भन्ने हाम्रो साझा चाहना हो भने आजैदेखि शब्द र व्यवहारमा सजग बनौं ।

Exit mobile version