हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ५ स्थित बोटबारी लिफ्ट सिंचाई आयोजनाको औपचारिकरुपमा उद्घाटन गरिएको छ । प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले शनिबार उक्त लिफ्ट सिंचाईको सकेट खोलेर उद्घाटन गर्नुभएको हो ।
उद्घाटनसँगै लिफ्ट गरेर निकालिएको पानी किसानको बारीमा वितरण गरिएको छ । आयोजनाबाट बोटबारी र दानीघाटका ७० घरधुरी किसानहरु प्रत्यक्ष लाभान्वित हुने भएका छन् । आयोजनाले यस क्षेत्रका १ हजार ५ सय रोपनी बाँझो जमिनमा सिंचाई सुविधा पुग्ने अपेक्षा गरिएको छ । संघीय सरकारको सिचाई मन्त्रालयको १ करोड बजेटमा राक्सिराङमा लिफ्ट सिचाई आयोजना सम्पन्न गरिएको हो ।
त्यस क्षेत्रमा वर्षको एक बालीमात्रै खेती हुने गरेकोमा सिंचाई सुविधा भएपछि थप बाली खेती गर्न सकिनेमा स्थानीयबासीले आशा व्यक्त गरेका छन् । आयोजनाबाट निकालिएको पानी ४० वटा वितरण केन्द्रहरुबाट आवश्यकताअनुसार पाइप जोडेर सिधै बारीमा सिंचाई गर्न सकिने वडा नम्बर ५ का अध्यक्ष हरिबहादुर प्रजाले बताउनुभयो । सिंचाई सुविधाका कारण राक्सिराङको समग्र उत्पादन बढ्ने सांसद महेश बर्तौलाले बताउनुभएको छ ।
