आज गाईजात्राको दिन हो । गाईजात्रा भन्नेवित्तिकै धेरै नेपालीको मानसपटलमा दुईवटा कुरा आउँछ । एउटा– लथालिङ्ग वा कन्तबिजोगको अवस्था, अर्को– नेवार समुदायले मनाउने पर्व । नेपाली वृहत् शब्दकोषले गाईजात्रालाई बेइज्जती हुने खालको वा मार्यादा नभएको र अव्यवस्थित कामकुरोको रुपमा अर्थ लगाएको छ । सोही शब्दकोषमा गाईजात्रालाई भाद्र कृष्ण प्रतिपदाका दिन (जनै पूर्णिमाको भोलिपल्ट) मनाइने, परिवारका कुनै सदस्यको मृत्यु भएको वर्ष मृतकको मुक्तिका उद्देश्यले गाईलाई सिँगारेर वा मान्छेलाई गाईको रुपमा सिँगारेर सहर परिक्रमा गराइने यात्रा, गोयात्रा भनिएको छ । शब्दकोषमा सोही अवसरमा मनोविनोदका रुपमा देखाइने हास्यव्यङ्ग्य प्रदर्शनलाई पनि गाईजात्राको रुपमा अथ्र्याइएको छ ।
गाईजात्रा पर्व काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा धुमधामका साथ मनाइन्छ । सोह्रौं शताब्दीको मध्यतिर कान्तिपुरका राजा प्रताप मल्लका छोराको मृत्यु भएपछि पुत्रशोकले भाव विह्वल भएकी रानीलाई सान्त्वना दिन गाईजात्राको प्रचलन सुरु गरिएको मानिन्छ । राजा प्रताप मल्लले जनतालाई आफ्ना–आफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गर्न लगाएर रानीको शोक कम गर्न गाईजात्रा पर्वको सुरुवात भएको इतिहासमा उल्लेख छ । मानिस शोकमा हुँदा पिर तथा चिन्ता बढी हुने भएकाले मनोरञ्जन प्रदान गर्न विभिन्न प्रकारका हास्यव्यङ्ग्य प्रदर्शन गर्ने प्रचलन चलेको हो । गाईजात्रा निकाल्दा पनि अनेकन् चित्र तथा आकृतिको प्रयोग गरिन्छ । गाईजात्राको अवसरमा सामाजिक तथा राजनीतिक विकृतिप्रति हास्य प्रहसन तथा व्यङ्ग्यात्मक प्रस्तुति अरु समयभन्दा बढी हुने गर्दछ ।
गाईजात्रा शब्दले उल्लेखित सांस्कृतिक महिमामात्र होइन, पछिल्लो समय नेपालको राजनीतिको संस्कार, शैली र परिपाटीलाई पनि चित्रित गर्ने गरेको छ । बास्तवमै नेपालको पछिल्लो राजनीति गाईजात्राजस्तै छ । अधिकांश राजनीतिक नेतृत्वको कार्यशैली गाईजात्रा भन्दा कम छैन । राजनीतिमा अस्थिरता र अन्योलतामात्र बढेको छैन, नैतिकता र विश्वासको खडेरीसमेत देखिएको छ । राजनीतिमा अहिले के भइरहेको छ भन्ने थाहा होला तर, भोलि के हुन्छ भन्ने अनुमानसमेत गर्न कठिन भएको छ । आफ्नै दलभित्र एकले अर्कोलाई विश्वास गर्ने अवस्था छैन । पद र अवसरका लागि जे पनि गर्न तयार हुने नेतृत्वका कारण राजनीति गाईजात्रामात्र बनेको छैन, लाजनीतिको रुपमा चरितार्थ भइरहेको छ । केही वर्षअघि कोशी प्रदेशमा सरकार परिवर्तनको गाईजात्रा हेरेका नेपालीले बागमती प्रदेशको पछिल्लो सरकार परिवर्तनको गाईजात्रा पनि हेर्दैछन् । बागमतीका नवनियुक्त मुख्यमन्त्रीले विश्वासको मत लिने दिनसम्म थप गाईजात्रा हेर्न पाइने सम्भावना अझै छ ।
जनताका लागि राजनीति गरेको भन्ने दल र तिनका नेतृत्वले सधैँभरि गाईजात्रा देखाइरहँदा नेपाली जनता भने रुनु न हाँस्नुको अवस्थामा पुगेका छन् । राजनीतिमा भइरहेको गाईजात्रा हेर्दा हाँस्न मन लागे पनि त्यसले पार्ने प्रभावका कारण देश र जनताले पाइरहको सास्तीले हाँस्न सक्ने अवस्था छैन । देशमा सधैँको गाईजात्राले दिक्क भएर सचेत र शिक्षित वर्गहरु विदेश पलायन भइरहेका छन् । देशको विकास, समृद्धि र रोजगार वृद्धिमा कुनै चासो नदिएर गाईजात्रा देखाउन प्रतिस्पर्धा गरिरहेका दलीय नेतृत्वकै कारण कामका लागि विदेशिने नेपाली वर्षेनि बढिरहेका छन् । स्वदेशमै केही गर्नुपर्छ भनेर बसिरहेका नेपालीलाई पनि गाईजात्रे राजनीतिले देशलाई असफल बनाउने हो कि भन्ने चिन्ताले सताइरहेको छ ।
