हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजनीति व्यापार नभएको बताउनुभएको छ । उहाँले राजनीति सेवा र धर्म भएको बताउनुभयो । सेवा र धर्मका लागि राजनीति आवश्यक रहेको उहाँले बताउनुभयो । बुधबार बिहान नेपाली काँग्रेस बागमती प्रदेश समितिले आयोजना गरेको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले उत्तरदायी, जिम्मेवार र पारदर्शी भई निष्पक्षताका साथ जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । जनतालाई न्याय, शान्ति र विकास दिन आफू र आफ्नो मन्त्रि मण्डल प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।
‘राजनीति सेवा र धर्म हो । राजनीति व्यापार हैन । व्यापारमा नाफा नोक्सान हुन्छ, तर, राजनीतिमा न्याय हुन्छ । हामीले जनतालाई न्याय दिन, शान्ति दिन विकास दिनको लागि राजनीति गरेको हो ।’ मुख्यमन्त्री बानियाँले भने, ‘त्यो बाटोमा हामी एक दिन पनि नअल्मल्लिइकन ठिक र सत्य, न्याय र इन्साफ गरिवको निमुखाको सर्वसाधारणको पक्षमा उत्तरदायी, जिम्मेवार, पारदर्शी र जवाफदेही भएर निष्पक्ष सक्रिय रुपमा काम गर्ने प्रतिवद्धता जनाउँदछु ।’
आफूले मुख्यमन्त्री हुँदा प्राप्त गर्ने तलब भत्ताबाट आफ्नो निर्वाचन क्षेत्रका गरिब र विपन्न परिवारका घर निर्माण गरिदिने पनि बानियाँले घोषणा गर्नुभयो । मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित बानियाँले विपन्न र असहाय नागरिकको पहिचान गरी आफ्नो तलब भत्ताको रकमले घर बनाउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो । नेपाली काँग्रेस बागमती प्रदेशले प्रदेशका नवनियुक्त मुख्यमन्त्री बानियाँसहित पार्टीबाट मन्त्री बनेकाहरुलाई स्वागत गरेको हो । मुख्यमन्त्री बानियाँसहित खानेपानी, उर्जा तथा सिंचाई मन्त्री कृष्णकुमार तामाङ र विना विभागी मन्त्री शिवराज अधिकारीलाई स्वागत, सम्मान तथा शुभकामना कार्यक्रम आयोजना गरिएको हो ।
