Home मुख्य समाचार कैलाशमा सामूदायिक स्वास्थ्य क्लिनिक भवन उद्घाटन

कैलाशमा सामूदायिक स्वास्थ्य क्लिनिक भवन उद्घाटन

सामूदायिक स्वास्थ्य क्लिनिक भवन उद्घाटन गर्नुहुँदै अध्यक्ष लोकबहादुर मुक्तान ।

हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिका–१०, बेतिनीमा सामूदायिक स्वास्थ्य क्लिनिक भवन उद्घाटन गरिएको छ । मंगलबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले एक समारोहका बीच भवन उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन कार्यक्रममा अध्यक्ष मुक्तानले स्वास्थ्य र सरसफाईको क्षेत्रमा गाउँपालिकाले साझेदार संस्थाहरुसँगको सहकार्यमा काम गर्दै आइरहेको र आगामी दिनमा पनि सहकार्य रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

शिक्षा, स्वास्थ्य, खानेपानीका क्षेत्रमा १२ भन्दा बढी संस्थासँगको साझेदारीमा आवश्यक बजेट विनियोजन गरिएको अध्यक्ष मुक्तानले बताउनुभयो । आम नागरिक स्वास्थ्य सेवाको पहुँचबाट बन्चित नहोस् भन्ने हेतुले सेवा प्रदान गर्दै आइरहेको क्लिनिकले आगामी दिनहरुमा पनि थप सुविधाका साथ सेवा प्रदान गर्ने विश्वास लिएको उहाँले बताउनुभयो । घरमै सुत्केरी गराउने(होम डेलीभरी) प्रथाको अन्त्यका लागि १० नम्बर वडा र ६ नम्बर वडामा प्रसुती सेवा चालु आवमा सञ्चालनमा ल्याउने तयारी गाउँपालिकाको रहेको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य क्षेत्र सेवामा सक्रिय रहेको प्रेम सेवा समाजले सञ्चालनमा ल्याएको स्वास्थ्य क्लिनिक १९ लाख ९६ हजार ९२४ रुपैयाँ लागतमा भवन निर्माण गरिएको समाजका अध्यक्ष मीरा स्याङ्तानले जानकारी दिनुभयो । भवन निर्माणका लागि कैलाश गाउँपालिकाले १० लाख, बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको ५ लाख, प्रेम सेवा समाजको ४ लाख ९६ हजार ९२४ रुपैयाँ लागतमा तीन कोठे भवन निर्माण भएको छ ।

समाजकी अध्यक्ष मीरा स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा १० नम्बर वडाध्यक्ष सूर्यबहादुर ब्लोन, कार्यपालिका सदस्य एवम् समाजकी कोषाध्यक्ष सुन्तली सुनुवार, ईएलसीएका प्रमुख दाता डा. चन्द्रन, शान्ति नेपालका अध्यक्ष विद्या मालाकार, शान्ति नेपालका सल्लाहकार डा. कृष्णमान शाक्य, कार्यकारी निर्देशक फूलमान शर्मा, समाजका संस्थापक अध्यक्ष वीरबहादुर सिंतान, स्वास्थ्य चौकी नामटारका प्रमुख रन्जेश कुमार पटेल, आधारभूत स्वास्थ्य केन्द्र भाल्टारका प्रमुख सन्तोष साहको आतिथ्य रहेको थियो ।

Exit mobile version