हेटौँडा : नेपाली कांग्रेसबाट बागमती प्रदेश सरकारमा एकजना मात्रै मन्त्री सहभागी हुने भएका छन् । भागबण्डामा परेको १४ मन्त्रालयमध्ये आठ मन्त्रालयमा तत्काल एकजना मात्रै मन्त्री पठाउने तयारी कांग्रेसले गरेको हो ।
कांग्रेसबाट धादिङका शिवराज अधिकारी मन्त्री बन्दैछन् । उहाँको विभाग भने पछि तोक्ने गरी कांग्रेसले मन्त्रीको तयारीका लागि प्रक्रिया अगाडि बढाएको हो । अधिकारी कांग्रेसबाट समानुपातिकतर्फ खसआर्य कोटामा प्रदेशसभा सदस्य भएको हो ।
उहाँलाई आज हुने इन्द्रबहादुर बानियाँको मुख्यमन्त्रीको नियुक्ति र शपथ ग्रहणपछि नियुक्त गर्ने तयारी गरिएको छ । उहाँको शपथ ग्रहण पनि आजै हुने तयारी प्रदेश प्रमुख कार्यालयले गरेको छ । उहाँसँगै एमालेका ६ जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिने तयारी छ ।
एमालेले भागबण्डामा परेको छ छवटा मन्त्रालयमा मन्त्री टुङ्ग्याइसकेको छ । एमालेबाट वन तथा वातावरण मन्त्रीमा भरतबहादुर केसी, कृषि तथा पशुपंक्षी विकास मन्त्रीमा मधुसुधन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्रीमा डा. दिनेशचन्द्र देवकोटा, श्रम रोजगार तथा यातायात मन्त्रीमा जयराम थापा, स्वास्थ्य मन्त्रीमा किरण थापा र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रीमा विन्दु श्रेष्ठ लाई जिम्मेवारी दिने तयारी गरेको छ ।
कांग्रेसको भागमा परेको मुख्यमन्त्रीबाहेक ७ वटा मन्त्रालयको जिम्मेवारी भने केही दिनमा टुङ्ग्याउने गरी तयारी गरिएको कांग्रेसका एक प्रदेशसभा सदस्यले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेलाई एकजना मन्त्री सरकारमा पठाउने र अन्य मन्त्रालयको हकमा पार्टी सभापतिसँग छलफल गरेर मात्रै निर्णय गर्ने गरी दलको नेताले तयारी गर्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सात मन्त्रीको नियुक्तिको तयारी अगाडि बढाएको जनाएको छ । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार एमालेबाट ६ जना र कांग्रेसबाट एकजना मन्त्री नियुक्त गर्ने तयारी गरिएको जनाएको हो ।
