Home मुख्य समाचार चुरे संरक्षण अभियन्तालाई प्रकाश मानव अधिकार पुरस्कार

चुरे संरक्षण अभियन्तालाई प्रकाश मानव अधिकार पुरस्कार

चुरे संरक्षण अभियन्ता सुनिलकुमार यादवलाई प्रकाश मानव अधिकार पुरस्कार प्रदान गरिदैँ ।

हेटौंडाः चुरे तथा वन जंगल संरक्षण अभियन्ता सुनिलकुमार यादवलाई २०८१ सालको प्रकाश मानव अधिकार पुरस्कार प्रदान गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको ३१ औं संस्करणको पुरस्कार यादवले पाएका हुन् ।

काफ्लेको ३३ औँ स्मृति दिवसको अवसरमा साउन १६ गते ललितपुरमा आयोजित कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्त डा. गौरीशंकरलाल दासले यादवलाई सम्मानपत्र, ताम्रपत्र र इन्सेकको प्रतीक चिह्नसहित ५० हजार रुपैयाँको पुरस्कार राशि प्रदान गर्नुभयो ।

पुरस्कृत यादव बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–२ निवासी हुनुहन्छ । उहाँले जलवायु परिवर्तन र पानीको संकटलाई ध्यानमा राखी २०७४ सालबाट चुरे र वन जंगल जोगाउने अभियान सुरु गर्नुभएको हो ।

यादवले पुरस्कारस्वरुप प्राप्त ५० हजार रुपैयाँ विभिन्न स्थानमा विरुवा वितरण र रोपणमा खर्च गर्ने घोषणा गर्नुभयो । उहाँले कार्यक्रमस्थलमा ५ हजार १ सय ५० रुपैयाँ बराबरको १ सय ५० वटा कागतीको विरुवासमेत वितरण गर्नुभएको थियो ।

Exit mobile version