Home अर्थ/व्यापार ३२ करोड लगानीमा तयार भएको तरकारी थोक बजार उद्घाटन

३२ करोड लगानीमा तयार भएको तरकारी थोक बजार उद्घाटन

प्रादेशिक कृषि थोक बजारको शिलालेख अनावरण गरेर उद्घाटन गरिँदै ।

हेटौँडा : हेटौँडा–११, थानाभर्‍याङमा निर्माण गरिएको प्रादेशिक कृषि थोक बजारको उद्घाटन तथा हस्तान्तरण गरिएको छ । बागमती प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको थोक बजारको बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठ र हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले एक समारोहका बीच आइतबार बिहान थोक बजारको उद्घाटन गर्नुभएको हो ।

२ विगाह ४ धुर क्षेत्रफलमा ३२ करोड १० लाख रुपैयाँ बजेटमा थोक बजार तयार भएको हो । थोक बजार निर्माणका लागि ७० प्रतिशत बजेट प्रदेश सरकारले लगानी गरेको छ भने ३० प्रतिशत लगानी हेटौँडा उपमहानगरपालिकाले व्यहोरेको छ । थोक बजारमा ६३ वटा सटर रहेका छन् । २०७८ साल जेठ ९ गते निर्माण कम्पनिसँग सम्झौता गरिएको थियो । निर्माण सम्पन्न भएर हस्तान्तरण भएको थोक बजारमा ४० वटा सटर थोक व्यवसायीका लागि रहेको छ भने २३ वटा सटर खुद्रा व्यवसायीले प्रयोग गर्न पाउनेछन् ।

थोक बजारमा किसानले पनि सिधै उपभोक्तालाई बिक्री गर्न पाउने स्थान निर्माण गरिएको छ । साना किसानलाई लक्षित गरी सिधै विक्री गर्न सकिने व्यवस्था गरिएको हो । थोक बजारमा २ सय ३२ बर्गमिटर क्षेत्रफलको कोल्डस्टोरेज समेत रहेको छ । उक्त कोल्डस्टोरेजमा ५ सय मेट्रिकटन कृषिउपज सुरक्षित भण्डारण गर्न सकिने बताइएको छ ।

Exit mobile version