Home मुख्य समाचार ‘एमाले संस्थागत निर्णय मान्छ, बहादुर हुन् या इन्द्र फरक पर्दैन’

‘एमाले संस्थागत निर्णय मान्छ, बहादुर हुन् या इन्द्र फरक पर्दैन’

नेकपा एमाले संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्नुहुँदै दलको नेता जगन्नाथ थपलिया ।

हेटौँडा : बागमती प्रदेश सरकारको विषयमा एमाले संस्थागत निर्णयबाट अघि बढ्ने भएको छ । कांग्रेस संसदीय दलको निर्वाचनबाट अनुमोदित भएका व्यक्तिलाई संस्थागत रुपमा एमालले स्वीकार गर्ने संसदीय दलले निर्णय गरेको छ । सोही निर्णयका आधारमा एमालेले सरकारको नेतृत्वको विषयमा अघि बढ्ने एमालले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले बताउनुभएको छ ।

उहाँका अनुसार एमालेले व्यक्तिसँग सरोकार नराखी संस्थागत साझेदारीमा सरकारमा गएको हो । एमालेले शीर्ष नेतृत्वबाट पनि सोही अनुसारको निर्देशन प्राप्त भएकाले संस्थागत रुपमा अघि बढ्ने उहाँको भनाई छ । ‘एमाले संस्था मान्छ, संस्थागत निर्णय स्वीकार गर्छ । यसमा व्यक्ति को रहन्छ भन्ने विषय गौण हुन्छ’, उहाँले भन्नुभयो, ‘ससंदीय दलको नेतामा इन्द्र हुन् वा बहादुर एमालेलाई फरक पर्दैन । संस्थागत निर्णय मान्दा संसदीय दलको नेता नै मुख्यमन्त्री हुने भएकाले एमाले सोही अनुसारको साझेदारीमा अघि बढ्छ ।’

यसैबीच प्रमुख सचेतक पौडेलका अनुसार बिहीबारका लागि तय भएको मन्त्रिपरिषद् विस्तारमा एमालेको समर्थन छैन । मुख्यमन्त्री बहादुर सिंह लामाले आफु अनुकुल निर्णय गरेर अघि बढ्न खोजेको उहाँले बताउनुभयो । एमाले अहिलेको अवस्थामा मन्त्री थप्ने विषयमा सहमत नरहेको उहाँले प्रष्ट पारे । मुख्यमन्त्री लामा बुधबार नै मन्त्रिपरिषद् विस्तारको तयारी गरे पनि एमाले संसदीय दलको नेताले नमान्दा अन्तिम समयमा रोकिएको उहाँको भनाई छ । बिहीबार दिउँसो एक बजेका लागि तोकिएको समयमा मन्त्रीहरुको सपथग्रहण समेत सम्भव नरहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री लामाले एकलौटी ढङ्गबाट आफ्नो अधिकार प्रयोग गरेको खण्डमा मात्रै मन्त्रीहरुको सपथग्रहण हुने उनको दावी छ । एमालेको समर्थन बिना उक्त कार्य मुख्यमन्त्रीबाट हुन नसक्ने उहाँको भनाई छ ।

Exit mobile version