Home मुख्य समाचार ३५७ औं नियमित साहित्य सन्ध्या सम्पन्न

३५७ औं नियमित साहित्य सन्ध्या सम्पन्न

नियमित साहित्य सन्ध्याको क्रममा खिचिएको तस्वीर ।

हेटौंडा : साहित्य संगम मकवानपुरको ३५७ औं नियमित साहित्य सन्ध्या सम्पन्न भएको छ । शनिबार संगम र आँचल साहित्य कला पुञ्जको संयुक्त आयोजनामा् अप्सरा तिम्सिना स्मृति विशेष साहित्य सन्ध्या सम्पन्न भएको हो ।

कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरूबाट स्रष्टा अप्सरा तिम्सिनाको तस्वीरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरिएको थियो । सोही अवसरमा संगमको अक्षयकोषमा आर्थिक सहयोग प्रदान गर्ने सहयोगीहरूलाई कदरपत्रसहित सम्मान गरिएको छ ।

कार्यक्रम संगमका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता तथा हेटौंडा–४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्य रहेको थियो । वडा अध्यक्ष सिग्देलले भाषा, साहित्यको उन्नयनमा निरन्तर लाग्ने र अप्सरा तिम्सिनाको स्मृतिग्रन्थ प्रकाशनमा सहयोग गर्ने बताउनुभयो । उहाँले संगमको अक्षयकोष निर्माणमा समेत साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन संगमका उपाध्यक्ष सानु खनालले गर्नुभएको थियो ।

प्रगतिशील लेखक संघका बागमती प्रदेश अध्यक्ष शान्तिप्रिय वन्दनाले दिवङ्गत साहित्यकार अप्सरा तिम्सिनाको कृतित्व र व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा ३५७ औं नियमित सन्ध्याअन्तर्गत विजनेश सिग्देल, स्वस्तिका बानियाँ, मनोज मधुर, सानुभाइ विक, राजकुमार चौधरी, शान्तिप्रिय वन्दना, देवराज खरेल, यश लामा, गोकर्ण लामा, जनार्दन खनाल, राजकुमार लामिछानलगायतले रचना वाचन गर्नुभएको थियो ।

संगमको अक्षयकोष निर्माणका लागि राजकुमार लामिछानेले १७ हजार ७१७ रुपैयाँ सहयोग गर्नु भएको छ । २०८० भाद्र २८ देखि सञ्चालित अक्षयकोष निर्माण अभियानमार्फत् अहिलेसम्म ८ लाख २३ हजार ७० रुपैयाँ संकलन भएको संगमका अध्यक्ष बर्तौलाले जानकारी दिनुभयो । कार्यक्रममा सल्लाहकार सुवास खनाल, मुक्तिगोविन्द वैद्य, उमा मैनाली, राजुराम राउत, विशाल अधिकारी, उमेश तिमल्सिना, निरा शर्मा, सविता तिमल्सिना, निर्मला भ्लोन, केशव समर्पण, सुवास सजलगायतको आतिथ्य रहेको थियो ।

Exit mobile version