Home खेलकुद मकवानपुरको यु–१७ फुटबलमा ४० जना खेलाडी छानिए

मकवानपुरको यु–१७ फुटबलमा ४० जना खेलाडी छानिए

जिल्लास्तरीय छनोटमा सफल भई प्रदेशस्तरीय छनोटमा सहभागी हुने यु–१७ फुटबल खेलाडीहरु ।

हेटौँडा : मकवानपुर जिल्ला फुटबल संघले यु–१७ फुटबलमा ४० जना पुरुष खेलाडी छनोट गरेको छ । श्रीलंकामा सेप्टेम्बर १५ देखि २७ सम्म आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुन अखिल नेपाल फुटबल संघ (एन्फा) ले जिल्ला, प्रदेश हुँदै राष्ट्रिय टिम तयार पार्ने प्रक्रियाअन्तर्गत मकवानपुर जिल्लाबाट खेलाडी छनोट गरिएको हो ।

मकवानपुर जिल्ला फुटबल संघका महासचिव छवि सुवेदीले शनिबार र आइतबार हेटौँडा–६, स्थित गौरीटार रंगशालामा जिल्लास्तरीय खेलाडी छनोट गरेको जानकारी दिनुभयो । जिल्लास्तरीय छनोटमा मकवानपुरमा १३४ जना खेलाडीले सहभागिता जनाएको सुवेदीले जानकारी दिनुभयो । जिल्लाबाट छनोट भएका खेलाडीहरु बिहीबार र शुक्रबार धुलिखेलमा हुने प्रदेशस्तरीय छनोटमा सहभागी हुनेछ भने साउन २२ देखि २५ गतेसम्म केन्द्रले छनोट गर्ने महासचिव सुवेदीले जानकारी दिनुभयो ।

केन्द्रले करिब ४० जना खेलाडी छनोट गरेर साउन २६ गतेबाट बन्द प्रशिक्षणमा राख्ने छ । बन्द प्रशिक्षणमा परेका खेलाडीको समूहबाट २३ खेलाडी छनोट गरेर साफ यु–१७ का लागि बिदाई गरिने सुवेदीले बताउनुभयो । प्रतियोगितामा नेपालसहित भारत, भुटान, पाकिस्तान बंगलादेश र श्रीलंका सहभागिता जनाउने छन् ।

Exit mobile version