Home मुख्य समाचार कानुनी र भौतिक जटिलताले प्रतिष्ठानलाई बाधा

कानुनी र भौतिक जटिलताले प्रतिष्ठानलाई बाधा

हेटौंडा : कानुनी तथा भौतिक जटिलताका कारण मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समस्या भइरहेको छ । बागमती प्रदेश सरकारको गौरवको योजनामा समावेश प्रतिष्ठानले कानुनी जटिलतासँगै भौतिक समस्या भोग्नुपर्दा प्रभावकारी काम गर्न नसकेको हो ।

संघीय व्यवस्थाअनुकूलको चिकित्सा शिक्षा ऐन नहुँदा प्रतिष्ठान सञ्चालनमा बाधा पुगेको प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमरसिंह अधिकारीले बताउनुभयो । ज्ञान, अनुसन्धान र सेवालाई मुख्य लक्ष्य बनाएर २०७६ असोज २ गते स्थापना भएको प्रतिष्ठानले भौतिक पूर्वाधारको अभावमा लक्ष्यअनुसार काम गर्न नसकेको उहाँको भनाइ छ ।

अधिकारीका अनुसार प्रतिष्ठानले स्नातक तहका चारवटा कार्यक्रम सञ्चालन गरिरहेको छ । जनस्वास्थ्य अन्तर्गत ७० जना विद्यार्थीहरू अध्ययनरत छन् । फार्मेसीमा १३७ जना रहेका छन् भने मेडिसिनमा ९१ जना अध्ययनरत छन् । बिएस्सी नर्सिङमा ६० जना विद्यार्थी छन् । प्रतिष्ठानले फार्मेसीमा ३० वटा र अन्य विषयमा २०/२० जना विद्यार्थी संख्याको स्वीकृति पाएको छ ।

संघीय सरकारको ७५ प्रतिशत छात्रवृत्तिमा ३ सय ५७ जना विद्यार्थीहरू प्रतिष्ठानमा अध्ययनरत छन् । चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा पढ्नका लागि विद्यार्थी पठाए पनि छात्रवृत्तिबापतको रकम नपठाएको उहाँले बताउनुभयो । संघको ऐनले प्रदेशको प्रतिष्ठानलाई नचिनेकाले छात्रवृत्तिको पैसा नपठाएको उहाँको भनाइ छ ।

भौतिक पूर्वाधार निर्माणका लागि संघीय सरकारको ९६ करोडको योजनालाई ४९ करोडमा बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको प्रदेश राजधानी पूर्वाधार विकास आयोजनाले ठेकेदारसँग ठेक्का सम्झौता गरेको छ । सुस्त गतिमा काम भएको र ठेकेदारले पर्याप्त जनशक्ति ल्याउन नसक्दा काम ढिला भएको उहाँले बताउनुभयो ।

रुख कटान कार्यमा वनले ६ महिना ढिला गरेकाले ढिलो निर्माण कार्य भएको ठेकेदार पक्षको भनाइ छ । प्रदेश राजधानी पूर्वाधार विकास आयोजनाले प्रतिष्ठानको लागि बेसिक साइन्स बिल्डिङ संरचना बनाएर हस्तान्तरण गर्नुपर्ने हो । समयमै भवन निर्माण नहुँदा भाडामा सञ्चालन गर्नुपरेको उहाँ बताउनुहुन्छ । एमबीबीएसका लागि १३२ वटा कोटा रहेको छ । गत वर्षबाट पिजी (पोस्ट म्याजुएट) सञ्चालनमा आएको छ । यसअन्तर्गत ७ वटा विषयमा ८ जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।

Exit mobile version