Home मुख्य समाचार सवारी दुर्घटना दोब्बरले बृद्धि, ५० प्रतिशत दुईचक्के सवारी साधन

सवारी दुर्घटना दोब्बरले बृद्धि, ५० प्रतिशत दुईचक्के सवारी साधन

हेटौंडा : मकवानपुर जिल्लामा सवारी दुर्घटना झण्डै दोब्बरले वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१/०८२ मा मकवानपुरभित्र सवारी दुर्घटना दोब्बरले बढेको प्रहरीको तथ्याङ्कले देखाएको हो ।

अघिल्लो वर्ष जिल्लाभित्र २ सय ४५ वटा सवारी दुर्घटना भएकोमा गत आर्थिक वर्ष २०८१/०८२ मा ४ सय ७ वटा सवारी दुर्घटना भएको प्रहरीको तथ्याङ्क छ । गत आर्थिक वर्ष दुर्घटनामा परि ५० जनाको मृत्यु भएको थियो ।

सवारी दुर्घटनाबाट मृत्यु हुनेमध्ये ६० प्रतिशत अर्थात् ३० जना दुईपाङ्ग्रे सवारी दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयाँलले जानकारी दिनुभयो । यी दुर्घटनामा एकसय ६३ जना गम्भीर घाइते तथा ८ सय २ जना सामान्य घाइते भएका थिए । ५ सय ५९ वटा सवारी साधन दुर्घटना भएका थिए ।

सवारी दुर्घटनामा पर्ने लगभग आधा अर्थात् २ सय ७७ वटा दुईपाङ्ग्रे मोटरसाइकल तथा स्कुटर रहेका छन् । २३ वटा साना तथा हलुका चारपाङ्ग्रे सवारी साधन र एकसय ७ वटा ठूला तथा मालबाहक सवारी दुर्घटनामा परेका छन् । दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४६ जनालाई २ करोड ३० लाख र अंगभंग भएका एक जनालाई २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा २ सय ४५ सवारी दुर्घटना परेकामा ५८ जनाको मृत्यु भएको थियो । दुर्घटनामा एकसय ८६ जना गम्भीर घाइते र ३ सय ३८ जना सामान्य घाइते भएका थिए । उक्त वर्ष दुर्घटनामा संग्लग्न भएका सवारी साधन ३ सय ३६ वटामात्रै थियो ।

सवारी दुर्घटना हुनुको प्रमुख कारण चालक तथा पैदलयात्रीको लापरबाही रहेको प्रहरी निरीक्षक फुयाँलको भनाइ छ । मानिसमा सचेतनाको कमी हुँदा पैदलयात्रीले जथाभावी बाटो काट्ने, सवारी चालकले पनि ट्राफिक नियमको पालना नगर्ने गर्दा अधिकांश दुर्घटना भइरहेको उहाँको भनाइ छ । यस्तै, पानी परेर बाढी पहिरो जाँदा र यान्त्रिकरुपमा ब्रेक फेललगायतका कारणबाट पनि दुर्घटनाहरु भइरहेका छन् । कुनैबेला सडकको अवस्थाले पनि सवारी दुर्घटना हुने गरेको प्रहरी निरीक्षक फुयाँलले बताउनुभयो ।

दुर्घटना संख्या बढेको भए पनि जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उलङ्घनबापतको कारबाहीको संख्या भने गत आर्थिक वर्षमा घटेको छ । अघिल्लो आर्थिक वर्ष ४७ हजार ८ सय ९९ वटा ट्राफिक कारबाहीहरु गरेकोमा गत आर्थिक वर्ष ३० हजार ३४ वटामात्रै ट्राफिक कारबाही गरेको प्रहरीको तथ्याङ्क छ ।

Exit mobile version