हेटौँडा : मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । सोमबार साँझ ५ बजेर ४५ मिनेटको समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१५, रातोमाटेमा सुरक्षाजाँच गर्ने क्रममा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१ का १९ वर्षीय विकास राज पाण्डे र २२ वर्षीय कविन चन्दनलाई लागूऔषध खैरो हेरोइन १ ग्राम ७१० मिलिग्रामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बर्दिबासबाट हेटौँडातर्फ आउँदै गरेको बा ८८ प १९८१ नम्बरको मोटरसाईकललाई रोकेर सुरक्षाजाँच गर्नेक्रममा मोटरसाइकल चालक विकास र पछाडि बस्ने कविनलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको जनाएको छ । मकवानपुर जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा म्याद अनुमति लिई हिरासतमै राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ । मकवानपुर प्रहरीले हरेक दिनजसो लागूऔषध खैरो हेरोइन, औषधीजन्य लागूऔषधसहित मानिस पक्राउ गर्ने गरेको छ ।
