हेटौँडा : नेपाल प्रेस युनियनले कक्षा १२ उत्तीर्ण गरेका क्रियाशील सञ्चारकर्मीलाई मात्र नयाँ सदस्यता प्रदान गर्ने भएको छ । आइतबार काठमाडौंमा सम्पन्न युनियनको केन्द्रीय कार्यसमिति बैठकले सदस्याको विषयमा यस्तो निर्णय गरेको हो । सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्रदान गर्ने उद्देश्यसहित एकसय दिने विशेष अभियान सञ्चालन गर्ने निर्णय पनि युनियनले गरेको छ ।
केन्द्रको निर्णयअनुसार नै मकवानपुर जिल्लामा सदस्यता विस्तार तथा नवीकरण अभियान सञ्चालन गरिने मकवानपुर शाखाले जनाएको छ । सोमबार हेटौँडा सम्पन्न नेपाल प्रेस युनियन मकवानपुरको कार्यसमिति बैठकले जिल्ला उपाध्यक्ष कपिल खड्काको संयोजकत्वमा सञ्चारकर्मीहरूलाई युनियनमा आवद्ध गराउने उद्देश्यले ‘पत्रकारसँग युनियन’ अभियान समेत सञ्चालन गरिने निर्णय गरिएको बताइएको छ । बैठकले केन्द्रीय निर्णय कार्यान्वयन गर्दै मकवानपुर जिल्लामा संगठन सुदृढीकरणका विविध कार्यक्रम अघि बढाउने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले प्रेस युनियन मकवानपुरका सहसचिव प्रबेश धिताल ‘कुन्दन’लाई कार्यवाहक सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णयसमेत गरेको छ । युनियनका सचिव बलराम पुडासैनी हाल देश बाहिर रहेकाले संगठनको कार्यहरुलाई निरन्तर रुपमा गतिशील र चलायमान गराउन धिताललाई कार्यवाहक सचिवको जिम्मेवारी दिइएको युनियनले जनाएको छ ।
यसैगरी सोमलाल घालन ‘भुवन’लाई कार्यसमिति सदस्यमा मनोनित गरिएको छ । युनियन मकवानपुर शाखाले अनुशासनको कारवाहीमा परेर निष्कासित भएका सदस्यहरुलाई केन्द्रको सर्कुलर बमोजिम आत्माआलोचनासहित कारवाही फुकुवाका लागि शाखामा लिखित निवेदन दिन आव्हान समेत गरेको छ ।
