हेटौँडा : हेटौँडा–५ स्थित संजीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आइतबार हेटौँडा–१७, गैरीगाउँस्थित श्रीमद् भागवत ज्ञान सञ्चार वृद्धाश्रमलाई १५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको छ ।
सहकारीकी अध्यक्ष जानकी चौधरी नेतृत्वको पदाधिकारीले आश्रममा पुगेर खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो । सहकारीको वार्षिकोत्सवको अवसरमा सोमबार मामाघर नेपालमा १० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गरिने कार्यक्रम रहेको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मंगलबार हेटौँडा–५ स्थित रुद्रेश्वर महादेव मन्दिर परिसर र पिप्ले क्षेत्र वरिपरि वृक्षरोपण गरिनेछ ।
बुधबार सहकारीका सेयर सदस्यहरूसहित समुदायका नागरिकहरूका लागि स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ । बिहीबार स्लो महिला स्कुटर प्रतियोगिता आयोजना गरिनेछ भने शुक्रबार वार्षिकोत्सव समारोहको आयोजना गरिनेछ । वार्षिकोत्सव समारोहमा २०८१ सालको एसईईमा ४ जीपीए ल्याउने सामुदायिक विद्यालयका विद्यार्थीलाई ५ हजार नगदसहित सम्मान गरिनेछ । रजत महोत्सवको अवसरमा सहकारीले प्रकाशन गरेको स्मारिका शुक्रबार नै विमोचन गरिने अध्यक्ष चौधरीले बताउनुभएको छ ।
