Home मुख्य समाचार कालोमोसो दल्नेलाई नपक्रेको भन्दै प्रशासन कार्यालयमा हेटौँडाका जनप्रतिनिधिको धर्ना

कालोमोसो दल्नेलाई नपक्रेको भन्दै प्रशासन कार्यालयमा हेटौँडाका जनप्रतिनिधिको धर्ना

जिल्ला प्रशासन कार्यालय परिसरमा धर्ना दिँदै हेटौँडाका जनप्रतिनिधि ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिका १ नम्बर वडाका अध्यक्ष सविन न्यौपानेमाथि कालोमोसो दल्नेलाई पक्राउ नगरेको भन्दै हेटौँडा उपमहानगरपालिकाका उपप्रमुखसहित वडाअध्यक्षहरुले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा धर्ना दिएका छन् । आइतबार बिहान १० बजेदेखि धर्ना दिने भनिए पनि वडाध्यक्षहरुले बिहान १० बजेर ४५ मिनेटको समयदेखि धर्नामा बसेका थिए ।

वडाध्यक्षसँगै उपप्रमुख राजेश बानियाँ पनि धर्नामा सहभागी हुनुहुन्थ्यो । वडा अध्यक्षमाथि आक्रमण भएको एक महिना बितिसक्दा पनि आक्रमणकारीलाई पक्रन नसकेको विरोधमा जनप्रतिनिधि आन्दोलित भएका हुन् । उनीहरुले प्रतिक्षालयमै धर्ना बस्नुका साथै सेवाग्राहीलाई पनि त्यहीँबाट सेवा दिएका थिए ।

गत असार ४ गते दिउँसो करिब पौने ४ बजेको समयमा वडाध्यक्ष न्यौपानेमाथि आक्रमण भएको थियो । घटनाको विषयमा मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जनप्रतिनिधि धर्ना बसेकै स्थानमा दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो । वडाध्यक्षमाथि आक्रमण गर्ने एकजनालाई पक्राउ गर्न सफल भएको र घटनामा संलग्न अन्यको खोजी कार्य तीव्र पारिएको उहाँले बताउनुभएको छ ।

Exit mobile version