Home मुख्य समाचार डियोगो जोटा, यू विल नेभर वाल्क अलोन ।।

डियोगो जोटा, यू विल नेभर वाल्क अलोन ।।

सन् २०२५ को जुलाईको पहिलो साता विश्व फुटबल समुदायहरुका लागि अत्यन्तै दुःखद् र अविश्वसनीय खबर लिएर आयो । पोर्चुगलका चर्चित फुटबल खेलाडी, लिभरपुल एफसीका असाध्यै मिहिनेती फरवार्ड र देशका लागि गर्व मानिएको डियोगो जोटाको कार दुर्घटनामा परी देहावसन भयो । भर्खर २८ वर्ष उमेर भएका जोटा अल्पायुमै हामीबाट विदा भए । यो घटना केवल एक व्यक्तिको मृत्युसम्म मात्र सीमित थिएन; यो एउटा युगको, समर्पणशील खेलाडीको र फुटबलप्रतिको अगाध प्रेमिलको अन्त्य थियो ।

जोटा छुट्टी मनाउने क्रममा स्पेनबाट फर्किँदै थिए । केही दिनअघि उनले सामान्य स्वास्थ्य परीक्षण गराउँदा डाक्टरहरूले उनको फोक्सोमा समस्या देखिएको कारण प्लेनबाट यात्रा नगर्न सुझाव दिएका थिए । त्यसैले उनी सडकमार्ग प्रयोग गरेर फर्किरहेका थिए । तर यात्राकै क्रममा स्पेनको उत्तरी भागमा गाडी दुर्घटना हुँदा गम्भीर घाइते भई ज्यान गुमाए । स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो । दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ ।

उनको मृत्युसँगै लिभरपुल, पोर्चुगल र सम्पूर्ण फुटबल विश्व शोकमा डुब्यो । क्लबका खेलाडीहरू, समर्थकहरू, प्रशिक्षकहरू र फुटबल संघहरूले शोक प्रकट गरे । सामाजिक सञ्जाल भरिएको थियो श्रद्धाञ्जलीहरूले । उनका सहकर्मीहरूले आँसु झार्दै जोटासँगका अनुभव सुनाए । यस घटनाले केवल लिभरपुलका समर्थकहरूलाई मात्र होइन, फुटबलप्रेमीहरूलाई नै भावुक बनायो ।

डियोगो जोटाको पूरा नाम डियोगो जोटा टेइशेरा दा सिल्भा, सन् १९९६ डिसेम्बर ४ मा पोर्चुगलको पोर्टो शहरमा जन्मिएका थिए । सामान्य परिवारमा जन्मिएका जोटा सानैदेखि फुटबलप्रति आकर्षित थिए । उनका बाबुआमा पनि उनको खेलप्रतिको प्रेम बुझ्थे र सकेसम्मको सहयोग गर्थे । उनले आफ्नो फुटबल यात्रा स्थानीय क्लब गोंडोमारबाट सुरु गरे । सानो उमेरमै उनले देखाएको प्रतिबद्धता, दौडने शैली, बलमा नियन्त्रण र आक्रामकता हेरेर धेरै प्रशिक्षकहरू चकित पर्थे । गोंडोमारमा प्रशिक्षण लिँदै गर्दा उनी फुटबलको मूलभूत कुरामा गहिरो समर्पण देखाउँथे ।

त्यसपछि उनले पेसो फेरिएन्सेमा प्रतिस्पर्धी फुटबल सुरु गरे । यहाँ उनले आफ्नो खेलकौशल सुधार मात्र गरेनन्, धेरै पोर्चुगली क्लबहरूको ध्यान तान्न सफल भए । पछि एट्लेटिको म्याड्रिडले उनलाई अनुबन्ध गरे, तर त्यहाँ उनले पहिलो टिममा खासै अवसर पाएनन् । सन् २०१७ मा डियोगो जोटा इंग्ल्यान्डको वुल्भरह्याम्प्टन वाण्डरर्स (उल्भ्स) क्लबमा ऋणमा पुगे । त्यतिबेला उल्भ्स च्याम्पियनसिपमा थियो । जोटाले आफ्नो पहिलो सिजनमै १७ गोल गर्दै उल्भ्सलाई प्रिमियर लिगमा उकास्न अभूतपूर्व योगदान दिए । उनको तीव्रता, गोल स्कोर गर्ने शैली र डिफेन्डरहरूलाई झुक्याउने चालहरूले उनलाई उल्भ्सका फ्यानहरूको प्रिय बनायो । सन् २०१८ मा उल्भ्सले उनलाई स्थायी रूपमा अनुबन्ध ग¥यो । त्यसपछि जोटा क्लबका लागि प्रिमियर लिगमा झन् चम्किन थाले । उनले राउल हिमेनेजसँग बनाएको जोडी एक समय लिगको सबैभन्दा खतरनाक फरवार्ड लाइनमध्येको एक थियो । युरोपा लिगमा एस्पानियोलविरुद्ध गरेको ह्याट्रिकले उनको नाम युरोपभर फैलियो । यति छोटो समयमै जोटा शीर्ष क्लबहरूको नजरमा परेका थिए ।

सन् २०२० सेप्टेम्बर १९ मा जोटाको जीवनमा ठूलो मोड आयो । लिभरपुलले उनलाई ४५ मिलियन पाउण्डको ठूलो मूल्यमा अनुबन्ध गर्‍यो । त्यतिबेला क्लबसँग माने, फिर्मिनो र सालाहको सशक्त त्रिकोण थियो । धेरैले सोचे जोटा त व्याकअपका लागि ल्याइएका हुन् । तर उनले त्यो सोचाईलाई केही महिनामै तोडे । लिभरपुलका लागि डेब्यु खेलमै उनले आर्सनलविरुद्ध गोल गरे । त्यसपछि च्याम्पियन्स लिगमा अटलान्टाविरुद्ध ह्याट्रिक गरे । उनले ‘सुपर सब’ होइन, पहिलो रोजाइका स्ट्राइकर हुन सक्ने क्षमता देखाए । उनको पहिलो सिजनमा चोटपटकले केही समय रोकिए पनि उनले १३ गोल गरे । दोस्रो सिजनमा उनले २१ गोल गरेर आफुलाई स्थापित फरवार्डको रूपमा प्रस्तुत गरे ।

डियोगो जोटा ती खेलाडीमध्येको एक थिए, जो ‘वर्कहोलिक’ हुन् । उनी केवल गोल स्कोर गर्ने खेलाडी मात्र होइन, डिफेन्सिङमा पनि सहभागी हुन्थे । क्लपको गीगेनप्रेसिङ प्रणालीमा उनी पूर्णरूपमा फिट थिए । उनको दौड, स्पेस बुझ्ने क्षमता, हेडिङ स्किल (उचाइ कम भए पनि) र तीव्र निर्णय क्षमता उत्कृष्ट थियो । क्लपले उनलाई फरक–फरक पोजिसनमा प्रयोग गरे लेफ्ट विन्ग, सेन्टर फरवार्ड, कहिले राइट साइड । उनले जहाँबाट खेले पनि असर पुर्‍याए । माने र फिर्मिनो गएकै सिजनमा उनले अग्रपंक्तिमा ग्याप नै महसुस हुन नदिने गरी खेले । उनी ठूलो खेलमा गोल गर्ने खेलाडी थिए । म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड, एभर्टन, आर्सनल जस्ता टिमहरूविरुद्ध उनले निर्णायक क्षणमा गोल गरेका थिए ।

पोर्चुगल राष्ट्रिय टिममा पनि जोटा महत्वपूर्ण फरवार्ड थिए । युरो २०२०, विश्वकप २०२२, नेशन्स लिगमा उनले निरन्तर योगदान दिए । रोनाल्डोसँगको तालमेलले पोर्चुगलको फरवार्ड लाइनमा विविधता र सन्तुलन ल्याएको थियो । उनको विशेषता भनेकै चोटपटकपछि पनि छिटो फर्किने क्षमता थियो । त्यसैले प्रशिक्षकहरूले सधैँ उनको उपस्थितिमा भरोसा राख्थे । मैदानमा मात्र होइन, मैदानबाहिर पनि जोटा एक अनुशासित र पारिवारिक व्यक्ति थिए । उनले मिडिया ध्यानबाट टाढै रहन रुचाउँथे । सधैं प्रशिक्षणमा केन्द्रीत, फिटनेसमा कठोर र आहारमा ध्यान दिने । उनको जीवनशैली अत्यन्त सामान्य थियो सादगीपूर्ण, तर अनुशासित । फ्यानहरूसँग सधैं मिलनसार व्यवहार गर्थे । उनको सरलता, झुकाव र इमानदारीले उनलाई असल मानिसको रूपमा स्थापित ग¥यो ।

जुलाई २०२५ को पहिलो साता स्पेनबाट फर्किने क्रममा उनले विमानको सट्टा कारबाट यात्रा रोजे। दुर्भाग्यवश, स्पेनको राजमार्गमा दुर्घटना भयो । गाडी अनियन्त्रित भई सडक किनारमा ठोक्किँदा उनी गम्भीर घाइते भए । उनको मृत्युपछि लिभरपुलले एन्फिल्ड स्टेडियममा विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्‍यो । ‘यु विल नेभर वाल्क अलोन’ गीत सामूहिक रूपमा गाइयो र समर्थकहरू जोटाको नाममा विशेष टिसर्ट लगाएर उनको योगदानको सम्मान गरेका थिए । साथै, क्लबले डियोगो जोटाको सम्मानमा उनको जर्सी नम्बर २० स्थायी रूपमा रिटायर गर्ने निर्णय ग¥यो, अबदेखि उक्त नम्बर कुनै पनि खेलाडीले नलगाउने घोषणा गरिएको छ । यो निर्णयले जोटाप्रतिको गहिरो सम्मान र माया दर्शाउँछ, जुन लिभरपुलको इतिहासमा सधैं अमर रहनेछ ।

पोर्चुगल फुटबल महासंघले तीन दिन राष्ट्रिय शोकको घोषणा गर्‍यो । उनका सहकर्मीहरू र फुटबल लिजेण्डहरूले भावुक सन्देशहरू पोस्ट गरे । उनको अन्त्येष्टिमा लिभरपुल, उल्भ्स, पोर्चुगल टिम र उनका बाल्यकालका प्रशिक्षकहरू उपस्थित थिए । केही साताअघि मात्र उनले विवाह गरेका थिए । उनले सधैं भनेका थिए, ‘म अझै लिभरपुललाई च्याम्पियन्स लिग जिताएर पोर्चुगलको झण्डा फरक उचाइमा पु¥याउन चाहन्छु ।’ तर नियतिले त्यो सपना अधुरै छोडिदियो ।

उनले लिभरपुलका लागि ९५ खेलमा ४१ गोल गरे । टाइटल जिताए । एफए कप, लिग कप, कम्युनिटी सिल्ड, प्रिमियर लिग सबैमा उनले योगदान दिए । डियोगो जोटा आज हामीसँग छैनन् । तर उनले जुन खेल खेले, जुन समर्पण देखाए, जुन प्रेरणा दिए, ती युगौंसम्म रहनेछ । उनलाई सम्झेर बालबालिकाले फुटबल खेल्न सुरु गर्लान्, प्रशिक्षकहरूले अनुशासन सिकाउँदा उनलाई उदाहरण बनाउलान् । लिभरपुल क्लबले घोषणा गरिसकेको छ कि उनी सम्झनामा अकादेमी कार्यक्रम ‘जोटा फाउण्डेशन’ सुरु गरिनेछ, जसले गरिब देशका बालबालिकालाई फुटबलमा अवसर दिनेछ ।

डियोगो जोटा कुनै चम्किलो ब्रान्ड होइनन् । उनी कुनै सनसनी होइनन् । तर उनी एउटा मौन नायक थिए, जसले फुटबललाई मनदेखि माया गरे । उनले कहिल्यै हार नमान्ने, कहिल्यै गुनासो नगर्ने र सधैं टिमका लागि बलिदान दिन तयार रहने स्वभाव प्रदर्शन गरे । त्यसैले त आज हामी सबैको मुखमा एउटै वाक्य छ, ‘यु विल नेभर वाक एलोन डियोगो । हार्दिक श्रद्धाञ्जली ।

Exit mobile version