हेटौँडा : जिल्ला अदालत मकवानपुरले चालु आर्थिक वर्ष २०८१/०८२ मा करिब ७० प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । एक वर्षभित्र सम्पन्न भएका न्यायिक कामकारबाहीबारे जानकारी गराउने उद्देश्यले मंगलबार मकवानपुरका सञ्चारकर्मीहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्दै अदालतले यस्तो जानकारी दिएको हो ।
चालु आर्थिक वर्षमा २ हजार ५ सय ५३ वटा नयाँ मुद्दा दर्ता भएको र १ हजार ५ सय ९७ वटा फैसला हुन बाँकी रहेको जिल्ला अदालत मकवानपुरका स्रेस्तेदार रोशी भण्डारीले जानकारी दिनुभयो । अदालतमा गत वर्षबाट दायित्व सरेर आएकोसमेत जम्मा ४ हजार १ सय ५० मुद्दा रहेकोमा आगामी आर्थिक वर्षका लागि एक हजार २ सय ८२ वटा मुद्दाहरुको दायित्व सरेको छ । यस वर्ष पछिल्लो तीन वर्ष यताकै सबैभन्दा बढी मुद्दा फछ्र्यौट भएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्ष २ हजार ७ सय ३९ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य रहेकोमा लक्ष्यभन्दा धेरै मुद्दा फछ्र्यौट गरेको स्रेस्तेदार भण्डारीले बताउनुभयो ।
कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिनुहुँदै जिल्ला अदालत मकवानपुरकी न्यायाधीश अवनी मैनाली भट्टराईले मकवानपुरका स्थानीय तहका न्यायिक समितिहरुको सक्रियताका कारण पनि जिल्ला अदालतमा मुद्दाको चाप घट्दै गएको बताउनुभयो । यस वर्ष अदालतमा २ सय ७९ वटा मुद्दा मेलमिलापका लागि प्रक्रियामा लैजाँदा ४० वटामा सफलता मिलेकोसमेत उहाँले जानकारी दिनुभयो । यस्तै, अदालतले सम्पूर्ण मुद्दाहरुको विवरण डिजिटलरुपमा रेकर्ड राख्ने कामको सुरुवात गरी यस वर्ष ३ हजार ४ सय ४८ वटा मुद्दाको रेकर्ड राखिसकिएको कार्यक्रममा जानकारी दिइएको छ ।
जिल्ला न्यायाधीश मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा न्यायाधीशहरु गीता श्रेष्ठ, शकुन्तला कार्की, पूर्णिमा कोइराला, जिल्ला न्याय क्षेत्र समन्वय समितिका सदस्य प्रताप बिष्टलगायत सञ्चारकर्मीहरुको उपस्थिति थियो ।
