Home खेलकुद शहीद स्मृति महिला गोल्डकप फुटबलको आय–व्यय सार्वजनिक, प्रतियोगिताबाट ८ लाख रुपैयाँभन्दा बढी...

शहीद स्मृति महिला गोल्डकप फुटबलको आय–व्यय सार्वजनिक, प्रतियोगिताबाट ८ लाख रुपैयाँभन्दा बढी नाफा

पत्रकार सम्मेलनको क्रममा खिचिएको तस्वीर ।

हेटौंडाः सातौं शहीद स्मृति मकवानपुर राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक गरिएको छ । सार्वजनिक विवरणअुनसार प्रतियोगिता सञ्चालन गर्दा ८ लाख रुपैयाँभन्दा बढी मुनाफा भएको छ ।

प्रतियोगिता सम्पन्न भएको करिब दुई महिनापछि मकवानपुर जिल्ला फुटबल संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत् प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक गरेको हो । प्रतियोगितामा ८ लाख ३५ हजार रुपैयाँ मुनाफा रहेको संघका कोषाध्यक्ष अमृत लुङ्बाले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि ६४ लाख ९८ हजार रुपैयाँ आम्दानी भएको र ५६ लाख ६२ हजार रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो । वैशाख १९ गतेदेखि २५ गतेसम्म हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले उपाधि जितेको थियो ।

प्रतियोगिता हेटौंडा उपमहानगरपालिकाको मुख्य सहयोगमा सम्पन्न भएको थियो । प्रतियोगिताका लागि बागमती प्रदेश खेलकुद विकास परिषद्, भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोबर गाउँपालिकालगायत मकवानपुरका स्थानीय तहले सहयोग गरेका थिए ।

८ टिमको सहभागिता रहेको प्रतियोगिताको आय–व्ययबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामा, महासचिव छविलाल सुवेदी, प्रतियोगिता संयोजक प्रताप विष्टलगायतको उपस्थिति थियो ।

यसअघि, छैटौं संस्करणसम्म पुरुष गोल्डकप प्रतियोगिता गर्दै आएको संघले निरन्तर घाटा भएपछि सातौं संस्करणदेखि महिला गोल्डकप आयोजना गरेको हो । संघका पदाधिकारीहरूले महिला खेलको प्रोत्साहनसँगै आर्थिक पारदर्शिता कायम गर्न प्रतिस्पर्धालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Exit mobile version