हेटौँडा : मकवानपुरको बकैया गाँउपालिकाका विद्यालयहरुमा बुधबारबात प्रथम त्रैमासिक परीक्षा सञ्चालन भएको छ । गाँउपालिका अन्तर्गत रहेका कुल ७६ ओटा विद्यालयहरु मध्य ४८ ओटा विद्यालयहरुमा परीक्षा सञ्चालन भएको परीक्षा समन्वय समिति बकैयाका सचिव एवम गीतावर आविका प्रधानाध्यापक हरिहर खनालले जानकारी दिनुभयो ।
कक्षा ४ देखि १० सम्मका करिब ४ हजार ३ सय जना विद्यार्थीहरु परिक्षामा सहभागी भएका छन् । कक्षा १ देखि कक्षा ३ सम्म आन्तरिक मुल्यांकन प्रक्रिया अन्तर्गत लिखित प्रयोगात्मक मुल्यांकनको लागि ६० भन्दा बढी विद्यालयहरुमा ३ हजार ८ सय जना भन्दा बढी विद्यार्थीहरुले आन्तरिक मुल्यांकन परीक्षामा सहभागी भएका छन् ।
यो वर्ष गाँउपालिकाले शैक्षिक क्यालेन्डर प्रकाशन नगरेको र परीक्षा मिति पनि तय नगरेकोले परीक्षा समन्वय समिति मार्फत र विद्यालय आफैले प्रश्नपत्र निर्माण गरेर त्रैमासिक परीक्षा सञ्चालन गरिरहेका उहाँले जानकारी दिनुभयो ।
विद्यालय आफैँले बार्षिक कार्यतालिका निकालेर परीक्षा चलाएको हुँदा बिगतका बर्षहरु जस्तो सबै विद्यालयहरुमा परीक्षा कार्यक्रममा एकरुपता कायम हुन सकेको छैन । परीक्षा सञ्चालन हुन बाँकी विद्यालयहरुमा साउनको पहिलो हप्ता र भदौमा परीक्षा हुने उहाँको भनाइ छ ।
