हेटौंडा : मकवानपुरको बकैया गाउँपालिका–४, छतिवनमा रहेको महेन्द्र माध्यमिक विद्यालयलाई बस हस्तान्तरण गरिएको छ । सोमबार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले बस हस्तान्तरण गरेको विद्यालयकी प्रधानाध्यापक देवकी सिग्देलले जानकारी दिनुभयो ।
मन्त्रालययले विद्यालयलाई २५ लाख रुपैयाँ बराबरको बस खरिद गरेर हस्तान्तरण गरेको हो । विद्यालयले उक्त बस २ घण्टासम्म हिँडेर विद्यालय आउनुपर्र्ने स्थानमा चलाउने प्रधानाध्यापक सिग्देलले जानकारी दिनुभयो । बस विद्यालयबाट हर्दा, सुख्खा, सुकौरा हुँदै मोक्तानसरासम्म पुग्नेछ । त्यताबाट २ सयभन्दा बढी विद्यार्थी अध्ययनका लागि आउने गरेको उहाँले बताउनुभयो ।
१२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल ६ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् । यस वर्ष कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थी ७९ जना रहेका छन् । हालै सार्वजनिक एसईई नतिजामा परीक्षामा सहभागी ६७ जनामध्ये २४ जना विद्यार्थी ग्रेडेड भएका थिए ।
