Home अर्थ/व्यापार वडालाई २९ करोड ४० लाखको सिलिङ, प्रशासनिक खर्च १५ लाख थप

वडालाई २९ करोड ४० लाखको सिलिङ, प्रशासनिक खर्च १५ लाख थप

हेटौँडा उपमहानगरपालिका ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वडालाई २९ करोड ४० लाख बराबरको बजेट सिलिङ उपलब्ध गराएको छ । असार १० गते नगरसभा बस्दा वडाले बजेट सिलिङ नै पाएको थिएन । असार २७ गतेका लागि नगरसभा बोलाइएको छ । वडालाई दिइएको सिलिङअनुसार योजना समावेश गर्ने क्रम जारी छ । मंगलबारसम्म चालु आर्थिक वर्षको भुक्तानीको काम भइरहेकोले बुधबारबाट आगामी आर्थिक वर्षको बजेटको पुस्तिका तयार पार्ने काम सुरु हुने हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले जानकारी दिनुभयो ।

हेटौँडा उपमहानगरपालिकाका राजश्व व्यवस्थापन शाखाका प्रमुख मनोज सुवेदीका अनुसार वडालाई बजेटको सिलिङ पठाइएको छ । आगामी आर्थिक वर्षदेखि उपमहानगरले वडालाई १५ लाख रुपैयाँका दरले कार्यालय व्यवस्थापन खर्च समेत उपलब्ध गराएको सुवेदीले जानकारी दिनुभयो । आगामी आर्थिक वर्षका लागि उपमहानगरले वडालाई १ करोड ४० लाख २३ हजार रुपैयाँदेखि २ करोड ३ लाख ९८ हजार रुपैयाँको सिलिङ तोकेको छ । उपमहानगरले वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १० र ११ नम्बर वडालाई १ करोड ४० लाख २३ हजार रुपैयाँको बजेट सिलिङ उपलब्ध गराएको छ । यस्तै वडा नम्बर १, ३, १२, १३, १४, १५, १६ र १७ नम्बर वडालाई १ करोड ६१ लाख ४८ हजार रुपैयाँको बजेट सिलिङ तोकेको छ भने वडा नम्बर १८ लाई १ करोड ८२ लाख ७३ हजार रुपैयाँ र वडा नम्बर १९ लाई २ करोड ३ लाख ९८ हजार रुपैयाँ सिलिङ तोकेको छ ।

मंगलबारसम्म पनि सबै वडाले योजना प्रस्तुत गरी नसकेको उल्लेख गर्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले असार १० गते सम्पन्न नगरसभामा नगरसभा सदस्यले माग गर्नुभएजस्तो बजेट किताब तयार हुन नसक्ने उल्लेख गर्नुभएको छ । बजेट कम्प्युटर प्रणालीमा दाखिला गर्न नभ्याउने उल्लेख गर्नुहुँदै नगरसभामा एक्सेल फाइलमा तयार पारेर उपलब्ध गराइने उहाँले बताउनुभयो । असार १० गते सम्पन्न नगरसभामा भने नगरसभा सदस्यहरुले बजेट किताब तयार पारेर मात्रै बजेट पारित गर्ने अडान लिएका थिए । बजेटको तयारीमा पर्याप्त छलफल हुन नसकेको बताउँदै नगरसभा सदस्यहरुले पारदर्शी र जिम्मेवार भएर प्रभावकारी योजनाको तयारी गर्न माग गरेका थिए ।

नगरसभा सदस्यहरुले बजेट पारित भए पनि बजेट किताब तयार नहुँदा समावेश गर्नुपर्ने योजना काटिने, नगरसभामा प्रस्तुत नै नभएका योजनाहरु पछि समावेश हुने जस्ता गलत अभ्यास भइरहेको भन्दै आलोचना गरेका थिए । यता उपमहानगरका एक अधिकारीका अनुसार बजेट तयारीमा गम्भीर त्रुटी भएको, जनप्रतिनिधिहरु जिम्मेवार हुन नसकेको आरोप समेत लगाएका छन् । आगामी आर्थिक वर्षका लागि २ अर्ब ५७ करोड बराबरको बजेट बनाउने तयारी भइरहँदा नगरसभामा २ अर्ब ९० करोडको बजेट प्रस्तुत भएको ती अधिकारीको भनाइ छ । उनका अनुसार चालु आर्थिक वर्षकै ४० करोड रुपैयाँ दायित्व आगामी आर्थिक वर्षमा सर्ने निश्चित भएको सन्दर्भमा ३३ करोड रुपैयाँ थपिएर बजेट प्रस्तुत हुँदा स्रोत व्यवस्थापन गर्न कठिन हुनेछ । हेटौँडा उपमहानगरपालिकाले असार २७ गतेका लागि आव्हान गरेको नगरसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी भए पनि नगरसभा सदस्यहरुले भने बजेट पारित गर्ने निर्णयमा समर्थन नगर्ने संकेत देखिएको छ ।

Exit mobile version