हेटौँडा : हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २१२औं भानु जयन्तीको अवसरमा कविता प्रतियोगिताको आयोजना गरेको छ । नेपाली भाषा र साहित्यप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिव्यक्त गराउने उद्देश्यले कक्षा १२ देखि स्नात्तकोत्तर तहसम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
कविता प्रतियोगिताका संयोजक रामबाबु थापाका अनुसार प्रतियोगितामा सहभागी विद्यार्थीहरूले कम्तीमा १५० शब्दमा लेखिएको मौलिक तथा अप्रकाशित नेपाली कविता असार २६ गते बिहीबार साँझसम्म बुझाई सक्नुपर्नेछ । प्रतियोगिता असार २९ गते आइतबार कलेजको सभाहलमा आयोजना हुनेछ । प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुनेले ७ हजार रुपैयाँ र तेस्रो स्थान हासिल गर्नेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, सान्त्वना पुरस्कार स्वरूप एक जनालाई २ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ ।
कविता प्रतियोगितामार्फत महान कवि भानुभक्त आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै विद्यार्थीहरूलाई नेपाली भाषा र साहित्यको महत्वबारे थप सचेत गराउने प्रयास गरिएको छ ।
