हेटौँडा : बर्खाका लागि खाना पकाउने दाउराको जोहोमा लागेका नुवाकोटका एक तामाङ दम्पत्ति मंगलबार बिहान आएको बाढीमा फसेपछि हेलिकप्टरबाट उद्दार गरिएको छ । दाउरा खोज्न घरबाट केही परको खोलामा पुगेका नुवाकोटको विदुर नगरपालिका–९ का ६७ वर्षीय पाल्देन तामाङ दम्पती करिव १ घण्टा सिसौको रुखमा चढेर ज्यान जोगाएका छन् ।
६२ वर्षीया मंगली तामाङ (श्रीमती) सहित खोला किनारको जंगलमा दाउरा संकलन गर्न पुगेका पाल्देन रसुवाबाट आएको भोटेकोशीको बाढीमा फसेका थिए । विहान झिसमिसेमा नै दाउरा संकलनका लागि हिँडेका पाल्देन र उनकी श्रीमती खोलामा पुगेलगत्तै बाढीमा पसेका थिए । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक विक्रम लामाका अनुसार पाल्देन दम्पत्ती दैनिक रुपमा दाउरा काट्न सो क्षेत्रमा पुग्ने गरेका थिए । सोही समयमा मंगलबार पनि उनीहरु दाउरा संकलन गर्न खोला किनारमा पुगेको र बाढीमा फसेको उनले बताए । रसुवाबाट बगेको भोटेकोशी नुवाकोटको त्रिशुलीमा मिसिएपछि खोलाको बेग उच्च भएको उनले बताए ।
किस्पाङ गाउँपालिका–४ साल्मे स्थायी घर भई हाल विदुर नगरपालिका–९ मिलन चौतारामा बस्दै आएका पाल्देन र मंगलीले डोको बोकी त्रिशूली नदी किनारतिर दाउरा संकलनका लागि पुगेका थिए । नदी छेउका रुखका सुकेका हाँगा बटुल्ने क्रममा त्रिशुलीको बेग बढेको अनुभुति उनीहरुलाई भयो । त्रिशुलीको उर्लिएको बेग देखेपछि उनीहरु नजिकै रहेको सिसौको रुखमा चढे र डोकोलाई हाँगाको हाँगामा झुन्ड्याए ।
घटना त्रिशूली बसपार्क नजिक भएकाले स्थानीयले उनीहरुलाई रुखमा अड्किएको देखेपछि होहल्ला गरे । नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुको उद्दार गरियो । एक घण्टा रुखमा बिताएका उनीहरुलाई अहिले स्वास्थ्य उपचार पछि घर पठाइएको प्रहरी नायव उपरीक्षक लामाले बताए । स्वास्थ्य जाँचमा उनीहरुको कुनै समस्या नदेखिएपछि उनीहरुलाई घर पठाइएको उनले बताए । घटना हुनु पूर्व नै प्रहरीले सुरक्षा सतर्कता अपनाउन र खोला किनारमा नजान माइकिङ समेत गरेको थियो । बिहान ४ बजेबाट प्रहरीले बाढी आउने बारे जानकारी गराएको उनले बताए । उक्त जानकारी थाहा नपाएर पाल्देन दम्पत्ती खोलामा पुगेको उनले बताए । बाढीका कारण नुवाकोटमा एउटा मानव अंग (खुट्टा) भेटिएको छ भने एउटा खुट नभएको शव फेला परेको उनको भनाई छ । त्रिशुली हाइड्रो ३ बी मा जमिन काटान भएको उनले बताए ।
