हेटौँडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरेको बजेटप्रति प्रदेशसभा सदस्यहरुले तीव्र असन्तुष्टि जनाएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले बजेट असन्तुलित, टुक्रे आयोजना केन्द्रित र पक्षपातपूर्ण रहेको आरोप लगाउँदै सरकारको आलोचना गरेका हुन् ।
बजेट माथिको छलफलका क्रममा प्रदेशसभाका १५ जना प्रदेशसभा सदस्यले भाग लिएका थिए । उनीहरुले बागमती सरकारको बजेटप्रति व्यापक असहमति जनाएका थिए । मुख्यमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्री तथा पहुँचका आधारमा आफ्नै निर्वाचन क्षेत्रलाई प्राथमिकता दिएको आरोप सत्तापक्षका प्रदेशसभा सदस्यहरुबाटै उठेको छ । यो प्रवृत्तिले समग्र प्रदेशको सन्तुलित विकासलाई असर पु¥याउने चेतावनी उनीहरुले दिएका छन् ।
सत्ता र प्रतिपक्षी दुवैका प्रदेशसभा सदस्यहरुले बजेटको संरचना, कार्यान्वयन सम्भाव्यता र प्राथमिकतामाथि प्रश्न उठाउँदै सरकारलाई पुनःविचार गर्न आग्रह गरेका छन् । विकासको नाममा रकम वितरण केन्द्रमा परिणत भएको भन्दै उनीहरुले सरकारप्रति आक्रोश पोखेका थिए । सत्तारुढ नेपाली कांग्रेसका आफ्नै प्रदेशसभा सदस्यहरुले समेत सरकारको बजेटप्रति असन्तोष जनाएका छन् । कांग्रेसका प्रदेशसभा सदस्य प्रभात तामाङले बजेटको शैलीप्रति व्यंग्य गर्नुहुँदै प्रदेश सरकारको नाम ‘रकम वितरण केन्द्र’ राख्न सुझाव दिनुभयो । ‘यस्तो किसिमको बजेट बनाउने हो भने यो प्रदेश सरकार होइन, रकम वितरण केन्द्र नामाकरण गरौैं । बागमती सरकारको बजेट गन्तव्यहीन रहेको र सरकारलाई जिम्मेवार बन्न सकेन’, उहाँले भन्नुभयो ।
यस्तै कांग्रेस प्रदेशसभा सदस्य रमेशकुमार महतले चालु आर्थिक वर्षको अन्त्यमा १३ अर्ब रुपैयाँ राजस्व उठाउने चुनौती रहेको बताउनुभयो । उक्त अवस्था सम्भव नभए बजेट कार्यान्वयनमा संकट पर्ने उहाँले बताउनुभयो । सरकारले प्रभावकारी, दीर्घकालीन र गेम चेन्जिङ गौरवका कार्यक्रमहरु समेट्न नसकेको बताउनुभयो ।
प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य युवराज दुलालले बजेटमा दीर्घकालीन सोचको अभाव रहेको बताउनुभयो । उहाँले सरकार बजेट बाँड्नेमा त सक्रिय देखिएपनि स्रोत व्यवस्थापन र दीर्घकालीन रणनीतिमा उदासीन रहेको टिप्पणी गर्नुभयो । उहाँले बहुवर्षे आयोजनाहरुलाई आवश्यक बजेट नदिएकोप्रति आपत्ति जनाउनुभयो । सरकारको बजेट पुनःलेखन गर्न उहाँले माग गर्नुभएको छ । नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले बजेटलाई प्रदेश सरकारको कार्यशैली, सोच र क्षमताको दर्पणको संज्ञा दिनुभएको छ । उहाँले बजेटमा पार्टीगत स्वार्थ र पहुँचको भरमा गरिएको विनियोजनले सरकारको चरित्र उजागर गरेको टिप्पणी गरे । प्रदेश सरकारको बजेट हालसम्मकै कमजोर, असन्तुलित र भेदभावयुक्त रहेको उनको भनाई छ । नेता गोसाईले जनताको भावना अनुसार बजेट निर्माण हुनुपर्नेमा सरकारले इच्छा पूर्तिमा केन्द्रित अहंकारमूलक दस्तावेज तयार गरेको आरोप लगाए ।
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरिएको बजेटलाई सन्तुलित, उत्पादनमुखी र रोजगारी सिर्जनामूलक भएको दाबी गरेका छन् । शुक्रबार प्रदेशसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री काफ्लेले बजेट आर्थिक अनुशासनमा आधारित रही उत्पादन र उत्पादकत्व वृद्धि गर्न केन्द्रित रहेको बताए ।
अर्थमन्त्री काफ्लेले बजेट निर्माण गर्दा नीति तथा कार्यक्रमलाई आधार बनाइएको स्पष्ट पार्दै बहुवर्षीय योजनामा पर्याप्त बजेट विनियोजन गरिएको उल्लेख गरे । उनका अनुसार, कृषि, पर्यटन, पूर्वाधार, स्वास्थ्य, उद्योग, सूचना प्रविधि, वातावरणलगायत विभिन्न क्षेत्रमा सन्तुलित रूपमा बजेट विनियोजन गरिएको छ ।
‘एक वडा, एक कृषि उत्पादन’ कार्यक्रमदेखि लिएर सूचना प्रविधिमा आधारित विषादी परीक्षण प्रयोगशाला, आधुनिक वधशाला, प्रांगारीक मल कारखाना, दूधजन्य उत्पादनको बजारीकरण तथा प्रोत्साहन अनुदान कार्यक्रमहरू बजेटमा समावेश गरिएको उहाँले बताउनुभयो । आर्थिक मामिला तथा योजना मन्त्री काफ्लेले बागमती प्रदेशलाई पर्यटन हबको रुपमा विकास गर्ने दीर्घकालीन सोच अनुरुप बजेट तयार पारिएको दावी गर्नुभयो । युवालाई स्वदेशमै रोजगारी दिनका लागि स्टार्टअप तथा स्वरोजगार कार्यक्रमलाई प्राथमिकतामा राखिएको उहाँको भनाई छ । उहाँले औद्योगिक ग्राम र साँस्कृतिक ग्रामको स्थापना तथा स्वदेशी काठ प्रयोग र वन स्रोतको दिगो उपयोगमार्फत आय आर्जन गर्ने योजना अघि सारिएको बताए । आर्थिक मािला तथा योजना मन्त्री ले प्रदेश सरकारको संरचनात्मक सुधारतर्फ समेत ध्यान दिइएर दोहोरो कार्यक्षेत्र भएका तथा औचित्य पुष्टि गर्न नसकिने प्रदेश संरचनाहरुलाई गाभ्ने वा खारेज गर्ने व्यवस्था बजेटमा समावेश गरेको बताउनुभयो ।
