Home मुख्य समाचार एसईईमा राम्रो नतिजा हासिल भएपछि बालबोध माविले मनायो खुसियाली

एसईईमा राम्रो नतिजा हासिल भएपछि बालबोध माविले मनायो खुसियाली

खुसियालीपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडा : हेटौंडा–१७ मा रहेको बालबोध माविले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा राम्रो नतिजा ल्याएकोमा खुशीयाली मनाएको छ । मंगलबार विद्यालयले पञ्चेबाजासहित खुशीयाली र्‍याली निकालेको हो । चौघडा, राजदेवी, दोभानचौर हुँदै र्‍याली निकालिएको विद्यालयका प्रधानाध्यापक दीपकलाल श्रेष्ठले जानकारी दिनुभयो ।

२०८१ सालको एसईईमा विद्यालयबाट ३३ जना विद्यार्थीले परीक्षा दिएकोमा २७ जना उत्तीर्ण भएका थिए । विद्यार्थी उत्तीर्ण प्रतिशतको आधारमा बालबोध मावि सामुदायिक विद्यालयतर्फ हेटौंडा उपमहानगरमा प्रथम भएको प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो । विद्यालयले ३.६१ भन्दा बढी जीपीए ल्याएका ३ जना विद्यार्थीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरेको छ । ती विद्यार्थीलाई प्रधानाध्यापक श्रेष्ठले पनि जनही २ हजार रुपैयाँ प्रदान गर्नु भएको छ । यस्तै, ३.२ देखि ३.६ सम्म जीपीए ल्याउन सफल ४ जनालाई विद्यालयले जनही २ हजार रुपैयाँ प्रदान गरेको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिनुभयो ।

३.८५ जीपीए ल्याउन सफल स्मृति तिमल्सिनालाई अंग्रेजी विषय शिक्षक मन्दिरा रेग्मीले एक हजार ५ सय र विज्ञान विषय शिक्षक रमिला घिमिरेले एक हजार रुपैयाँ प्रदान गरेर सम्मान गर्नुभएको छ । यस्तै, ३.६३ जीपीए ल्याउने सृष्टि भुजेललाई सामाजिक र अर्थशास्त्र विषयका शिक्षक गोपाल भुजेलले नगद एक हजारसहित सम्मान गर्नुुभएको छ । विद्यालयबाट १० जना विद्यार्थीले २.८ देखि ३.२ सम्म जीपीए ल्याएका छन् भने २.४ देखि २.८ सम्म जीपीए ल्याउने पनि १० जना नै छन् ।

विद्यालयले विषयगत सबै शिक्षकलाई सम्मान गरेको प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष ३३ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएको उहाँले बताउनुभयो । विद्यालयमा हाल ३ सय ९८ जना विद्यार्थी अध्ययनरत रहेका छन् । यस वर्ष १० कक्षामा २७ जना विद्यार्थी रहेका छन् ।

Exit mobile version