हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा विभिन्न घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको काभ्रे, सिनधुली र सिन्धुपाल्चोक जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका–१०, बसेरी भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा नमोबुद्ध बृहत खानेपानी आयोजनामा काम गर्ने कामदार मोरङ जिल्लाका ४५ वर्षीय गोकर्ण बस्नेत रहेको प्रहरीले जानकारी दिएको छ । गोकर्ण सोमबार बिहान ११ बजेर ४० मिनेटको समयमा बसेरी भिरबाट ४ सय मिटर तल खसेर मृत अवस्थामा फेला परेका थिए ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–२, ढुङ्गानाडाँडामा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा नगरपालिका–२, रानिटारका २६ वर्षीय सुवास ढुङ्गाना रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार बिहान ८ बजेको समयमा ढुङ्गाना मकैबारी खेतमा घाँस काट्न गएका थिए । ढुङ्गाना सोहिदिन बिहान ११ बजेको समयमा खेतमा मृत अवस्थामा फेला परेको प्ररहीले जानकारी दिएको छ । मृत्यु हुनको कारण नखुलेको प्रहरीले जनाएको छ ।
सिन्धुली जिल्लाको मरिण गाउँपालिका–२, मुङ्ग्रे दोभानमा घाइते अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ४९ वर्षीय देवकुमार घलान रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार दिउँसो १२ बजेर ४० मिनेटको समयमा घलान बाटोमा हिँडिरहेको अवस्थामा जखनीखोला किनारमा लडेर घाईते अवस्थामा फेला परेका थिए । घलानलाई उपचारका लागि कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्र लगिएकोमा दिउँसो १ बजेर ३० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा घलानले लामो समयदेखि छारे रोगको औषधी सेवन गर्दै आएको पाइएको छ ।
