हेटौँडा : माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा मकवानपुुरको मकवानपुरगढी गाउँपालिकाका ४३.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । गाउँपालिकाका १० विद्यालयबाट एसईईमा सहभागी २ सय १३ जना विद्यार्थी मध्ये ९३ जना विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतीजाअनुसार मकवानपुरगढीका १० वटा माध्यमिक विद्यालय मध्ये मकवानपुरगढी–५ स्थित शारदा माविको नतीजा शतप्रतिशत रहेको छ । शारदा माविबाट २५ जना विद्यार्थीले परीक्षा दिएकोमा सबै विद्यार्थी उत्तीर्ण भएका छन् ।
गत वर्षको तुलनामा यस वर्ष मकवानपुरगढीको एसईईको नतीजा धेरै सुधार भएको गाउँपालिकाका शिक्षा सहजकर्ता कमल फुयालले बताउनुभयो । २०८० सालको एसईईमा १५.३३ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । गत वर्ष २ सय ५४ जना विद्यार्थीले परीक्षा दिएका थिए । परीक्षामा सहभागी मध्ये ४६ जना विद्यार्थी मात्रै ग्रेडेड भएका थिए भने २ सय ४८ जना ननग्रेडेड भएका थिए ।
गत वर्ष शून्य नतिजा हाँसिल गरेको मनकामना माविबाट यस वर्ष ३ जना विद्यार्थी भएका छन् । मनकामना माविबाट १३ जना विद्यार्थीले परीक्षा दिएका थिए । विद्यालयका प्रधानध्यापक भोजराज चापागाइका अनुसार विद्यार्थी र अभिभावकको चासो कम भएको र गणित विषय कमजोर भएका कारण विद्यार्थी बढी ननग्रेडेड भएका हुन् । आगामी दिनमा पालिकाले गत वर्षको जस्तैगरी अतिरिक्त कक्षा संचालन गर्ने, बन्द प्रशिक्षणमा राखेर पठनपाठन गराउने सहजकर्ता फुयालले बताउनुभयो ।
मकवानपुरगढी गाउँपालिकाको जनता माविबाट सबैभन्दा कम विद्यार्थी उत्तीर्ण भएका छन् । जनता माविबाट परीक्षामा सहभागी ३१ जना विद्यार्थी मध्ये ६ जना (१९.३५ प्रतिशत) विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।
