Home मुख्य समाचार एसईईमा बकैयाको नतीजा १८ प्रतिशत, २ विद्यालयको नतीजा निल

एसईईमा बकैयाको नतीजा १८ प्रतिशत, २ विद्यालयको नतीजा निल

२०८१ सालको एसईईमा बकैया गाउँपालिकाको नतीजा तालिका ।

हेटौँडा : माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मकवानपुरको बकैया गाउँपालिकाका १८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण (ग्रेडेड) भएका छन् । बकैयाका १२ वटा विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुँदा २ वटा विद्यालयका एक जना विद्यार्थी पनि उत्तीर्ण भएनन् । बकैयाका १२ विद्यालयका ४ सय ११ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा ७४ जना (१८ प्रतिशत) विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

बकैया–२ स्थित कालिका मावि र बकैया–१० स्थित प्रसिद्ध माविकाबाट एकजना पनि विद्यार्थी उत्तीर्ण भएनन् । कालिका माविबाट २१ जना र प्रसिद्ध माविबाट १५ जना विद्यार्थीले परीक्षा दिएका थिए । यी दुई विद्यालयमा गत वर्षको एसईईमा पनि नतीजा शून्य थियो । गत वर्ष बकैया–५ स्थित प्रभात मावि र बकैया–८ स्थित जनजागृतिको नतीजा पनि शून्य थियो । यस वर्ष भने प्रभात माविबाट एसईईमा सहभागी ३७ जना विद्यार्थी मध्ये ३ जना (८.११ प्रतिशत) र जनजागृति माविबाट ३० जना विद्यार्थी मध्ये ११ जना १५.१५ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन् ।

बकैया गाउँपालिकाकै सबैभन्दा बढी विद्यार्थी भएको ३ नम्बर वडाको बुद्ध माविका ८८ जना विद्यार्थी मध्ये ४ जना (४.५५ प्रशित) विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । पालिकाकै सबैभन्दा बढी प्रतिशत अर्थात् ४० प्रतिशत विद्यार्थी बकैया–९ स्थित बाघभैरव माविबाट उत्तीर्ण भएका छन् । बाघभैरवका २५ जना विद्यार्थी मध्ये १० जना विद्यार्थी उत्तीर्ण भएका छन् । संख्यात्मक हिसाबले सबैभन्दा बढी बकैया–४ स्थित महेन्द्र माविबाट २४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । महेन्द्र माविबाट ६५ जना विद्यार्थी सहभागी हुँँदा ३६.९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

बकैया गाउँपालिकाका शिक्षा प्रमुख आइतराम तामाङ एसईईको नतीजा सन्तोषजनक नभएको उल्लेख गर्नुहुँदै केही विद्यालयमा विषयगत शिक्षकको अभावका कारण नतिजा राम्रो आउन नसकेको स्वीकार्नु हुन्छ भने विषयगत शिक्षक भएका बुद्ध मावि, महेन्द्र माविको नतीजा पनि सन्तोषजनक नभएको बताउनुभयो । गत वर्ष पनि राम्रो नतीजा नआएका कारण विद्यालयलाई प्रोत्साहन गरिए पनि नतीजा सुधार हुन नसकेको उहाँको भनाइ छ । नतीजाको विषयलाई लिएर पालिका अध्यक्षसँग पनि छलफल भएको र नतीजाको समीक्षा गरिने प्रमुख तामाङले बताउनुभएको छ ।

Exit mobile version