Home मुख्य समाचार चट्याङ लागेर राक्सिराङमा ४ जना घाइते

चट्याङ लागेर राक्सिराङमा ४ जना घाइते

हेटौँडामा परेको चट्याङ । तस्वीर : राजन कटुवाल/फाइल तस्वीर ।

हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिका–९, चिउराङ र घ्याल्चेमा चट्याङ लागेर ४ जना घाइते भएका छन् । शुक्रबार बेलुका ७ बजेर ३० मिनेटको समयमा चट्याङ लागेर ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चट्याङ लागेर ३३ वर्षीया सुनमाया तामाङ, ३५ वर्षीय वीरसिं मोक्तान, ३७ वर्षीया कमला मोक्तान र १९ वर्षीया डोल्मा मोक्तान घाइते भएका छन् । घाइते सुनमायालाई प्राथमिक उपचार पश्चात थप उपचारका लागि चितवनस्थित मौलाकालिका अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । वीरसिं, कमला र डोल्माको प्राथमिक उपचार पश्चात घरमा नै रहेका छन् । डोल्मा गर्भवती रहेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार साँझकै चट्याङ लागेर राक्सिराङमा एकजनाको मृत्यु भएको थियो । शुक्रबार साँझ साढे ५ बजेको समयमा राक्सिराङ–८, माइसिराङस्थित आफ्नै घरमा बसिरहेकी ७ वर्षीया युनिका प्रजाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । चट्याङ लागेर २७ वर्षीया रविना प्रजा सामान्य घाइते भएकी थिइन् भने उनकी छोरी युनिका गम्भीर घाइते भएकी थिइन् । रविना र युनिकालाई उपचारका लागि मनहरी अस्पताल पुर्‍याइएको थियो । उपचारको क्रममा शुक्रबार राती ८ बजेर ५२ मिनेटको समयमा युनिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइते रविनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Exit mobile version