Home अर्थ/व्यापार हेटौँडाका नगरसभा सदस्यले भने, ‘बजेट किताब तयार पारेर बजेट पास गरौं’

हेटौँडाका नगरसभा सदस्यले भने, ‘बजेट किताब तयार पारेर बजेट पास गरौं’

बजेट किताब तयार पारेर मात्रै बजेट पारित गर्न नगरसभामा माग गर्नुहुँदै वडाध्यक्ष नवीन सिग्देल ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाका नगरसभा सदस्यले बजेट किताब तयार पारेर मात्रै बजेट पारित गर्न माग गरेका छन् । मंगलबार नगर सभामा नीति तथा कार्यक्रमसँगै बजेट पनि प्रस्तुत भएपछि बोल्दै नगर सभा सदस्यहरुले बजेट किताब तयार पारेर मात्रै बजेट पारित गर्न माग गरेका हुन् ।

अघिल्ला वर्षहरुमा नगर सभाले पारित गरेको भन्दा फरक योजनाहरु समेटिएको उल्लेख गर्दै नगर सभा सदस्यले बजेट किताब तयार पार्न माग गरेका हुन् । कार्यपालिका सदस्य समेत रहनुभएका ४ नम्बर वडाध्यक्ष नवीन सिग्देलले बजेट किताब तयार पारेर मात्रै बजेट पारित गर्न माग गर्नुभयो । ‘समयमै बजेट किताब तयार नपार्ने अनि मेयर, उपमेयर बजेट तानातान गर्ने, वडाध्यक्षहरु पनि बजेट पार्न पालिका धाइरहने प्रवृत्ति रामैो भएन । बजेट किताब तयार पारेर एकैपटक फाइनल गरौं’, वडाध्यक्ष सिग्देलले भन्नुभयो । नगरसभा सम्पन्न भएर बजेट किताब ढिलो गरी तयार हुँदा नगरसभामा प्रस्तुत भएका र छलफल भएका भन्दा फरक शीर्षकमा बजेट उल्लेख भएर आउने गरेको भन्नुहुँदै वडाध्यक्ष सिग्देलको नगरप्रमुखको ध्यानाकर्षण गराउनुभयो । यो वर्ष वडाको बजेट सिलिङ समेत निश्चित नगरिएको प्रति पनि वडाध्यक्ष सिग्देलले ध्यानाकर्षण गराउनुभएको छ ।

वडाध्यक्ष सिग्देलको ध्यानाकर्षणपछि नगरप्रमुख मीना कुमारी लामाले वडाले समयमै योजना निश्चित गरेर नपठाएका कारण बजेट किताब तयार पार्न ढिलाई भएको बताउनुभयो । उहाँले बजेटको शीर्षक परिवर्तनको विषयमा भने स्पष्ट पार्नुभएन । १९ नम्बर वडाध्यक्ष नरनाथ सुवेदीले योजना नपठाउने वडाको बजेटलाई ब्लकमा राखेर बजेट किताब तयार पार्न सुझाव दिनुभयो । बजेट माथिको छलफलमा सहभागी हुनुहुँदै ६ नम्बर वडा सदस्य विजय पौडेलले वडाले बजेटको पूरा विवरण दिएन भन्ने सन्दर्भमा वडाध्यक्षले वडा सदस्यलाई पनि जिम्मेवारी दिएर बजेट समयमै तयार पार्नुपर्ने बताउनुभयो । उहाँले बजेटको प्रस्तुती, छलफलका लागि आवश्यक समय र पारित गर्ने कार्यतालिका कार्यपालिकाले तय गर्नुपर्ने आवश्यकता विपरित नगरप्रमुखले सभामा बजेटमाथिको छलफल र पारित गर्ने मिति कहिलेलाई तय गर्ने भनेर सोध्नु उचित नभएको बताउनुभयो ।

Exit mobile version