Home मुख्य समाचार बागमती प्रदेशस्तरीय ज्योतिष सम्मेलन सम्पन्न

बागमती प्रदेशस्तरीय ज्योतिष सम्मेलन सम्पन्न

हेटौँडा : बागमती प्रदेशस्तरीय ज्योतिष सम्मेलन हेटौंडामा सम्पन्न भएको छ । नेपाल ज्योतिष परिषद् बागमती प्रदेशको आयोजना तथा नेपाल ज्योतिष परिषद् मकवानपुरको व्यवस्थापनमा दोस्रो बागमती प्रदेशस्तरीय ज्योतिष सम्मेलन आइतबार सम्पन्न भएको हो ।

हेटौंडा–५ स्थित रुद्रेश्वर मन्दिरको सभाहलमा शनिबारबाट सञ्चालन भएको सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका ज्योतिषहरुको सहभागिता रहेको थियो । नेपाल ज्योतिष परिषद् बागमती प्रदेश अध्यक्ष विष्णुप्रसाद तिमल्सिनाको सभाध्यक्षता भएको सम्मेलनमा बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठको प्रमुख आतिथ्य थियो ।

सम्मेलनमा परिषद्का केन्द्रीय अध्यक्ष केशवप्रसाद धिताल, दक्षिण एसियाली ज्योतिष महासंघका अन्तर्राष्ट्रिय विभाग सभापति तथा नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य लक्ष्मण पन्थी, केन्द्रीय उपमहासचिव दीपक शर्मा दाहाल, केन्द्रीय कोषाध्यक्ष पवित्रा श्रेष्ठ, केन्द्रीय सदस्य बालकृष्ण घिमिरेलगायतको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा ९८ वर्षीय ज्योतिष गोविन्दप्रसाद उपाध्यायलाई ज्येष्ठ नागरिकको रुपमा सम्मानित गरिएको छ । परिषद्का प्रदेश उपाध्यक्ष महेश्वर श्रेष्ठ, उपमहासचिव भूपेन्द्र पौडेल, मकवानपुर जिल्ला अध्यक्ष सुनिलराज रुपाखेती र जिल्ला सचिव लवहरि अधिकारीलाई पनि सम्मान गरिएको छ ।

परिषद्को बागमती प्रदेश महासचिव भीमप्रसाद पौडेल तथा मकवानपुर जिल्ला सचिव लवहरि अधिकारीले सहजीकरण गर्नुभएको सम्मेलनमा एक सय ५० जना प्रतिनिधिको सहभागिता थियो । सम्मेलनमा फलित ज्योतिष र यसको व्यवहारिक प्रयोग, हाम्रो दैनिक जीवनमा वास्तुको प्रभाव, ज्योतिष शास्त्रमा रत्न तथा ज्योतिष शास्त्रमा तन्त्र विषयमा चर्चा गरिएको परिषद्का मकवानपुर जिल्ला सहसचिव कुशहरि अधिकारीले जानकारी दिनुभयो ।

Exit mobile version