Home मुख्य समाचार इन्द्रसरोवर गाउँपालिका अनिवार्य तथा निःशूल्क शिक्षा सुनिश्चित पालिका घोषणा

इन्द्रसरोवर गाउँपालिका अनिवार्य तथा निःशूल्क शिक्षा सुनिश्चित पालिका घोषणा

अनिवार्य तथा निःशूल्क शिक्षा सुनिश्चित पालिका घोषणा कार्यक्रममा सहयोगीलाई प्रशंसापत्र प्रदान गर्नुहुँदै गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी ।

हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित पालिका घोषणा भएको छ । असार ५ गते एक कार्यक्रमका बीच गाउँपालिकाले विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गराउने र उनीहरूलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य तथा निःशुल्क रूपमा प्रदान गर्ने सुनिश्चितता गरिएको घोषणा गरिएको हो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख धर्मानन्द पन्तका अनुसार संघीय सरकारको कार्यक्रमअन्तर्गत अनिवायृ तथा निशूल्क शिक्षा सुनिश्चित पालिका घोषणा गरिएको हो । अनिवार्य तथा निशूल्क शिक्षा सुनिश्चित पालिका घोषणाका लागि बागमती प्रदेश सरकारले २५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । नेपालको संविधानले परिकल्पना गरेको ‘सबै नागरिकलाई शिक्षा प्राप्त गर्ने अधिकार’ लाई साकार पार्दै अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ अनुसार घोषणा गरिएको शिक्षा शाखा प्रमुख पन्तले बताउनुभयो । पन्तले आगामी दिनमा यस कार्यक्रमको दिगोपनाका लागि पालिकाले विषयगत बजेट छुट्याउने, प्रदेश तथा संघीय सरकारसँग समन्वय गरी काम गर्ने बताउनुभयो ।

घोषणा कार्यक्रमलाई निरन्तरता दिँदै दिगोपना कायम राख्नका लागि सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी, शिक्षा विकास निर्देशनालयका महानिर्देशक, पालिकाका जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय तहका राष्ट्रसेवक कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक, नागरिक समाज, विद्यार्थी र अभिभावक लगायत सम्पूर्ण सरोकारवालाहरूको उपस्थितिमा अनिवार्य तथा निःशुल्क शिक्षालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको पन्तले जानकारी दिनुभयो ।

इन्द्रसरोवर गाउँपालिकामा २० वटा सामुदायिक विद्यालय रहेका छन् । घरधुरी सर्वेक्षण गर्दा विद्यालय जाने उमेर समूहका ४८ जना बालबालिकालाई नयाँ शैक्षिक सत्रमा भर्ना गराइएको छ । उनीहरूको समस्या पहिचान गरी विद्यालय पोशाक, शैक्षिक सामग्री उपलब्ध गराइएको पन्तले बताउनुभयो ।

Exit mobile version