हेटौँडा : हेटौँडा चेस क्लबको आयोजनामा यु–१४ विद्यालयस्तरी छात्रवृत्ति बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । हेटौँडा चेस क्लबका अध्यक्ष एवम् नेपाल बुद्धिचाल महासंघका महासचिव धरम बहादुर लामाको अध्यक्षता तथा बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख सूर्य बहादुर दाहालको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको हो ।
हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा भएको प्रतियोगितामा ६६ जना खेलाडी सहभागी छन् । पहिलो दिनको खेल सक्किँदा हेटौँडा–५ स्थित जिएस निकेतनका विषम कोइराला र हेटौँडा–४ स्थित नवोदय शिशु सदनका नाइस लामा समान ४ अंकका साथ अग्रस्थानमा छन् । नवोदयका सरल मैनाली, हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलका केविन गर्ग, जिएस निकेतनका आङतेन मोक्तान र उचित जोशी समान ३.५ अंकका साथ विषम र नाइसलाई पछ्याउँदै छन् । प्रतियोगिताको फाइनल खेल आज शनिबार हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेले १ वर्ष, द्वितीय हुनेले ६ महिना र तृतीय हुनेले ३ महिनाको छात्रवृत्ति पाउनेछन् । यस्तै चौथो र पाँचौं हुनेले पनि १÷१ महिनाको छात्रवृत्ति प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका अधिकृत हम बहादुर बिक, मकवानपुर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष प्रसिद्ध रेग्मीको पनि आतिथ्य रहेको थियो ।
