
हेटौँडा : उद्योग संघ मकवानपुरको आयोजनामा हेटौँडामा २ दिने स्टार्टअप तथा नवप्रवर्तन उद्यमशीलता सम्मेलन सुरु भएको छ । हेटौँडा–२ स्थित एभोकाडो होटेलमा शुक्रबार बिहान एक समारोहका बीच सम्मेलन सुरु भएको हो । बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयसँगको सहकार्यमा आयोजना गरिएको सम्मेलनको उद्घाटन कार्यक्रम उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव हेमराज भुषालको प्रमुख आतिथ्यमा भएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै सचिव भुलालले नवप्रवर्तन र उद्यमशीलतामा निजी क्षेत्रले नै अगुवाई गर्ने र राज्यले त्यसका लागि वातावरण बनाउने बताउनुभयो । उहाँले नवप्रवर्तन र उद्यमशीलतामा प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उद्योग संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष श्रीहरि मास्केको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेल, उद्योग संघ मकवानपुरका पूर्वअध्यक्ष ऋषिराम घिमिरेको पनि आतिथ्य रहेको थियो । शुक्रबार र शनिबार दुई दिन सञ्चालन हुने सम्मेलनमा दीगो उद्यमशीलताको विषयमा प्रमुख वक्ताको रुपमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. विजुकुमार थपलिया रहनुभएको छ । पहिलो दिन प्रमुख वक्ताको प्रस्तुतीसँगै नेपालमा दीगो उद्यमशीलताको विषयमा समूह छलफल, बजारीकरणको विषयमा कार्यशाला, उद्यमशीलतामा कृत्रिम वौद्धिकता (एआई) को प्रयोगका विषयमा प्रस्तुती रहनेछ ।
यस्तै दोस्रो दिन शनिबार ‘उद्यमशीलतामा महिला सहभागिता : चुनौति र अवसर’ विषयक समूह छलफल, बजेटमा नवप्रवर्तन र उद्यमशीलताको विषयमा छलफल हुनेछ भने नेपालको उद्यमशीलता चक्रमा प्रारम्भिक लगानीकर्ताको भूमिका विषयमा छलफल हुनेछ । सम्मेलनमा मकवानपुरसहित चितवन, सिन्धुली, धादिङ, नुवाकोट, दोलखा जिल्लाबाट उद्योग तथा वाणिज्य संघका पदाधिकारी, उद्यमी, स्टार्टअप योजनामा सहभागी नवउद्यमी, विद्यार्थीको सहभागिता रहेको छ ।