हेटौँडा: उद्योग संघ मकवानपुरको आयोजनामा नवप्रवर्तन कार्यक्रमअन्तर्गत नव उद्यमी, व्यवसायीले आफ्नो व्यावसायिक योजना प्रस्तुतीको कार्यक्रम सम्पन्न भएको छ । बुधबार उद्योग संघ मकवानपुरको सभाकक्षमा ८ वटा व्यावसायिक फर्मले आआफ्ना योजना प्रस्तुत गरेका थिए । उद्योग संघ मकवानपुरमा रहेको विजनेश इन्क्युवेसन सेन्टरले नवप्रवर्तन उद्यमीहरुका लागि व्यवसाय सञ्चालनसम्बन्धी ५२ दिन लामो अभिमुखीकरण पश्चात बुधबार उनीहरुको योजनाको प्रस्तुती गरिएको हो ।
संघका वरिष्ठ उपाध्यक्ष श्रीहरि मास्केको अध्यक्षता तथा बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङको प्रमुख आतिथ्यमा नवउद्यमी, व्यवसायीले आफ्नो उद्यम, व्यवसायका योजनाका बारेमा प्रस्तुती राखेका थिए । नवउद्यमी, व्यवसायीका सबै प्रस्तुतीलाई मन्त्री तामाङले अवलोकन गर्नुभएको थियो । प्रस्तुतीका आधारमा तीन वटा समूहलाई प्रथम, द्वितीय र तृतीय घोषित गरिएको छ । ती तीनवटै अवधाराणलाई उद्यम तथा व्यवसायको रुपमा स्थापित गर्ने क्रममा प्रथम, द्वितीय र तृतीय हुने उद्यम, व्यवसायलाई क्रमशः १ लाख २० हजार रुपैयाँ, १ लाख ५ हजार रुपैयाँ र ७५ हजार रुपैयाँ बीउ पुँजीको रुपमा अनुदान प्रदान गरिने बताइएको छ ।
यस्तै उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष स्वागतराज प्याकुरेलले महिलाहरुको समूहले प्रस्तुत गरेको युकिलिफीलाई प्रोत्साहनस्वरुप २५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नुभएको छ । नवउद्यमी, व्यवसायीको प्रस्तुती कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललितबहादुर घलान, नेपाल उद्योग परिसंघ बागमती प्रदेश समितिका अध्यक्ष लेखराज पोखरेल, उद्योग संघ मकवानपुरका पूर्वअध्यक्षहरु नवराज अर्याल, ऋषिराम घिमिरेको पनि उपस्थिति रहेको थियो ।
