हेटौँडा : यामाहा कम्पनिका मोटरसाइकल तथा स्कुटरका लागि हेटौँडाको आधिकारिक बिक्रेता राज मोटर्सले रे–जेड आर ब्राण्डको स्कुटरको माइलेज च्यालेन्ज कार्यक्रम आयोजना गरेको छ ।
शनिबार भएको कार्यक्रममा सहभागी २८ जना मध्ये प्रतिलिटर ७९.२७ किलोमिटर माइलेजमा यात्रा गर्नुहुँदै कृष्णप्रसाद घिमिरे प्रथम हुनुभएको छ । प्रतिलिटर ७८.५७ किलोमिटर यात्रा तय गर्नुहुँदै कृष्टिना भुजेल द्वितीय हुनुहुँदा ७८.२४ किलोमिटर यात्रा तय गर्नुभएका गंगाराम कँडेल तृतीय हुनुभएको छ । प्रथम, द्वितीय र तृतीय हुनेलाई गणेशको मूर्तिसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
हेटौँडा–४ स्थित यामाहाको शोरुमबाट सुरु भएको माइलेज च्यालेन्ज हेटौँडा बजार क्षेत्र हुँदै कमाने पुगेर हेटौँडा–२ स्थित एभोकाडो होटेल पुगेर समापन गरिएको थियो । करिब २२ किलोमिटर यात्रा गरेर माइलेज च्यालेन्जको आयोजना गरिएको राज मोटर्सका सञ्चालक राजन श्रेष्ठले जानकारी दिनुभयो । माइलेज च्यालेन्जसँगै माइलेज बढाउने गरी स्कुटर चलाउने सीपका विषयमा पनि जानकारी गराइएको श्रेष्ठले बताउनुभयो । एफआई सिस्टमको रे–जेड आर स्कुटरले राम्रो माइलेज दिने दावी गर्दै आएको यामाहा कम्पनिले आवधिक रुपमा माइलेज च्यालेन्जको आयोजना गर्ने गरेको छ । यसअघि पनि गत माघ महिनामा पनि हेटौँडामा माइलेज च्यालेन्जको आयोजना गरिएको थियो ।
