हेटौँडा : हेटौँडा औद्योगिक क्षेत्रस्थित गोर्खा लाहारी प्रालिमा शुक्रबार सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट समग्र उद्योग ट्रेड युनियन नेपाल विजयी भएको छ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल औद्योगिक मजदुर संघलाई २१ मतान्तरले पराजित गर्दै समग्र उद्योग ट्रेड युनियन नेपाल विजयी भएको हो ।
निर्वाचनमा कुल १०७ मतदाता रहेकोमा समग्र उद्योग ट्रेड युनियन नेपालले ६४ मत प्राप्त गर्यो भने प्रतिद्वन्द्वी अखिल नेपाल औद्योगिक मजदुर संघले ४३ मत पाएको थियो । यस नतिजासँगै प्रालिको आधिकारिक ट्रेड युनियनको नेतृत्व समग्र उद्योग ट्रेड युनियनले २ वर्षसम्म गर्नेछ । निर्वाचन सम्पन्न भएलगत्तै विजयोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष केशवप्रसाद अधिकारीले निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले फरक संगठनमा आस्था राख्ने श्रमिकहरूलाई समेत समेटेर अघि बढ्ने, श्रमिकको हकहित र अधिकार सुनिश्चित गर्ने तथा कम्पनीको उत्पादन वृद्धिका लागि व्यवस्थापनसँग वार्ता र संवादको माध्यमबाट आफ्ना प्रतिवद्धताहरू पूरा गर्ने बताउनुभयो ।
कार्यक्रममा समग्र उद्योग ट्रेड युनियन नेपालका केन्द्रीय अध्यक्ष आनन्द थामी प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी, जिफन्ट बागमती प्रदेश सचिवालय सदस्य लालकृष्ण प्याकुरेल, जिफन्ट प्रदेश सदस्य गोकर्ण खनाल, जिफन्ट मकवानपुर जिल्ला अध्यक्ष शम्भु लामा, हेटौँडा–८ का एमाले पार्टी वडा अध्यक्ष गोतामे मोक्तान, समग्र उद्योग ट्रेड युनियन नेपालका जिल्ला उपाध्यक्ष प्रमिला बिडारी लगायतका श्रमिक नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रमपश्चात् विजयी र्याली निकालिएको थियो । र्यालीले हेटौँडा औद्योगिक क्षेत्रको परिक्रमा गरेको थियो । निर्वाचन प्रक्रियामा श्रम कार्यालय मकवानपुर, सुरक्षाकर्मी तथा निर्वाचन अधिकृतले सहभागिता रहेको थियो ।
