Home मुख्य समाचार आर्थिक वृद्धिमात्र विकास होइन

आर्थिक वृद्धिमात्र विकास होइन

देशका अन्य प्रदेशको तुलनामा बागमती प्रदेशको समग्र आर्थिक सूचकहरुको अवस्था राम्रो छ । देशको राजधानी रहेको प्रदेश भएका कारण पनि यहाँको समष्टिगत आर्थिक सूचकहरु अन्य प्रदेशभन्दा अब्बल देखिनु स्वभाविक हो । बागमती प्रदेश सरकारले शुक्रबार प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार प्रदेशको कुल गार्हस्थ उत्पादन २२ खर्ब ३० अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गरेको प्रदेशको समग्र आर्थिक स्थितिसम्बन्धी प्रतिवेदनले बागमती प्रदेशले देशकै कुल गार्हस्थ उत्पादनमा ३६.५२ प्रतिशत योगदान पु¥याउने अनुमान रहेको छ । आर्थिक सर्वेक्षणले प्रदेशका नागरिकको प्रतिव्यक्ति आय २ हजार ६ सय २ अमेरिकी डलर रहेको र चालु आर्थिक वर्ष २०८१/०८२ मा प्रदेशको आर्थिक वृद्धिदर ५ दशमलब १८ प्रतिशत रहने अनुमान गरिएको छ ।

सर्वेक्षणअनुुसार प्रदेशका ९९ दशमलब ९७ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ । प्रदेशका ९२ दशमलब ३५ प्रतिशत घरधुरीमा आधारभूत खानेपानी सुविधा पुगेको छ । प्रदेशको साक्षरता दर ८२ दशमलब १ प्रतिशत रहेको छ । उत्पादनमूलक क्षेत्र र कृषि क्षेत्रमा बागमती प्रदेशको योगदान क्रमशः ३१ दशमलब ७ र १७ दशमलब १२ प्रतिशत रहेको छ । प्रदेशको ४४ दशमलब ५२ प्रतिशत जनसंख्या कृषि पेशामा आबद्ध छन् । बागमती प्रदेशमा देशको कुल वन क्षेत्रको १७ दशमलब ०५ प्रतिशत हिस्सा रहेको छ । देशभरका कुल बैंक तथा वित्तीय संस्थाका ११ हजार ५ सय ४३ शाखा मध्ये २६ प्रतिशत बागमतीमा छन् । बीमा कम्पनीका कुल २ हजार ९ सय ९२ शाखामध्ये बागमती प्रदेशमा झण्डै २९ प्रतिशत छ । फागुनसम्म बागमती प्रदेशमा ९१ हजार ८४९ जना बेरोजगार सुचिकृत छन् । देशको बेरोजगारी दर ११ दशमलब ४ प्रतिशत भए पनि बागमती प्रदेशमा ७ प्रतिशत रहेको छ । बागमती प्रदेशमा गरिबीको रेखामुनिका जनसंख्या १२ दशमलब ५९ प्रतिशत, बहुआयामिक गरिबी ७ प्रतिशत, गरिबीको गहनता शून्य दशमलब ८९ प्रतिशत र फैलावट १२ दशमलब ६८ प्रतिशत रहेको छ ।

समग्र आर्थिक सूचकले देशको अर्थतन्त्रको समष्टिगत अवस्थालाई बुझाउँछ । आर्थिक सूचकहरुले आर्थिक वृद्धिलाई संकेत गर्ने भए पनि आर्थिक वृद्धिलाई मात्र वास्तविक विकास मान्न सकिन्न । आर्थिक वृद्धि विकासको एउटा आयाम हो । विकास भनेको बहुआयामिक विषय हो, जसमा आर्थिक, सामाजिक, भौतिक, मानवीय, सांस्कृतिक, प्राविधिक सबै क्षेत्र समावेश हुन्छन् । आर्थिक विकासको सर्वमान्य सूचक नभए पनि कुल गार्हस्थ उत्पादन (राष्ट्रिय आम्दानी), प्रतिव्यक्ति आम्दानी, जीवनको भौतिक गुण, आधारभूत आवश्यकता परिपूर्ति, मानव विकास सूचकांकजस्ता सूचकहरुलाई देशको आर्थिक विकास मापन गर्ने आधारको रुपमा विश्वभर स्वीकार गरिएको छ ।

देश वा प्रदेशको समग्र आर्थिक सूचक सार्वजनिक भइरहँदा सरकारले गरेको आम्दानी तथा खर्चको आँकडा सन्तोषजनक छैन । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको फागुनसम्म खर्च २५ दशमलब ६२ प्रतिशतमात्र बजेट खर्च गरेको छ । चालुतर्फ ३५ प्रतिशत खर्च गरेको सरकारले पुँजीगततर्फ २० प्रतिशत पनि खर्च गर्न सकेको देखिँदैन । लक्ष्यअनुसार राजस्व आम्दानीसमेत हुन नसक्नु र विनियोजित बजेटसमेत खर्च गर्न नसक्नुले विकास र समृद्धिको गति कमजोर भइरहेको छ । बागमती प्रदेशको समग्र आर्थिक सूचकहरुले प्रदेशको समग्र विकासलाई केही हदसम्म प्रतिनिधित्व गर्ने भए पनि यहाँका नागरिकको गुणस्तरीय जीवन र समृद्धिलाई त्यसले मात्र मापन गर्न सकिँदैन । आर्थिक वृद्धिसँगै सबै क्षेत्रको विकास हुनु आवश्यक छ ।

Exit mobile version