Home मुख्य समाचार हेटौँडाकी नगरप्रमुख लामाको इजरायल भ्रमण स्थगित

हेटौँडाकी नगरप्रमुख लामाको इजरायल भ्रमण स्थगित

नगरप्रमुख मीनाकुमारी लामा । फाइल तस्वीर ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको इजरायल भ्रमण स्थगित भएको छ । इजरायल र इरानबीच द्वन्द्व चर्किएपछि एक साता लामो भ्रमणका लागि इजरायल जाने कार्यक्रम स्थगित भएको नगरप्रमुखको सचिवालयकी रुपा विडारीले जानकारी दिनुभयो ।

‘इजरायल र इरानबीच द्वन्द्व चर्किएपछि विमानस्थलहरु नै बन्द भएको भन्ने छ । त्यसैले नगरप्रमुखको भ्रमण स्थगित भएको छ’, नगरप्रमुखको सचिवालयकी रुपा विडारीले भन्नुभयो । इजरायल भ्रमणका लागि भनेर बिहीबार नै नगरप्रमुख लामा काठमाडौं पुग्नुभएको थियो । शनिबार बिहान ९ बजेको फ्लाइटमा इजरायल जाने तयारीमा रहनुभएकी नगरप्रमुख लामाको भ्रमण अन्तिम समयमा रोकिएको हो ।

इजरायलको विदेश मन्त्रालयको निमन्त्रणामा मिनी एक्स्पो २०२५ मा सहभागी हुन नगरप्रमुख लामा इजरायल जान लाग्नुभएको थियो । नगरप्रमुख लामासहित नेपालका १० वटा नगरपालिकाका प्रमुखहरु इजरायल जाने तयारी थियो । नगरप्रमुखको भ्रमणको विषयमा उपमहानगरपालिकाले भने कुनै जानकारी गराएको छैन । भ्रमण जाने विषयमै जानकारी नगराएको उपमहानगरले भ्रमण स्थगित भएको विषयमा पनि कुनै किसिमको औपचारिक जानकारी गराएको छैन । यसअघि पनि नगरप्रमुख लामा आधा दर्जन मुलुकको भ्रमण गरिसक्नु भएको छ । यसअघिका भ्रमणका विषयमा पनि जानकारी गराउने चलन रहेको छैन ।

Exit mobile version