हेटौँडा : हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको कप्तानमा सचिन यादव चयन हुनु भएको छ । शुक्रबार भएको निर्वाचन कार्यक्रममा कप्तानमा सचिन चयन हुनुभएको छ भने उप कप्तानमा अनुष्का यादव चयन हुनुभएको छ ।
बिहान साढे ८ बजेबाट मतदान सुरु भएर मध्यान्ह १२ बजेसम्म मतदानको कार्य भएको थियो । भुटनदेवी माविमा ६ कक्षादेखि १० कक्षासम्मका १ हजार २ सय ६५ जना विद्यार्थी मतदाता थिए । ९ सय २९ जना (७३.९ प्रतिशत) विद्यार्थीले मतदान गरेको शिक्षक सुमन श्रेष्ठले जानकारी दिनुभयो । विद्यालय कप्तानमा ५ जना उम्मेदवारी रहेको थियो भने उपकप्तानमा ४ जनाको उम्मेदवारी रहेको थियो । ४ वटा सदनको कप्तान र उपकप्तानको पनि चयन भएको छ ।
निलो सदनको कप्तानमा आशन यादव चयन हुनुभएको छ भने उपकप्तानमा अन्नय गुप्ता चयन हुनुभएको छ । यस्तै रातो सदनको कप्तानमा ऋषि यादव चयन हुनुभएको छ भने उपकप्तानमा गरिमा रिमाल चयन हुनुभएको छ । यस्तै पहेँलो सदनको कप्तानमा प्रभास यादव चयन हुनुभएको छ भने उपकप्तानमा नैना चौरसिया चयन हुनुभएको छ । यस्तै हरियो सदनको कप्तानमा उषा जैसवाल चयन हुनुभएको छ भने उपकप्तानमा जेसिका कटुवाल चयन हुनुभएको छ ।
हेटौँडा–४ स्थित भुटनदेवी माविले निर्वाचनका लागि आवश्यक सामग्री निर्वाचन आयोगको कार्यालयबाटै ल्याएर प्रयोग गरिएको थियो । निर्वाचन कार्यक्रममा बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालको पनि आतिथ्य रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडाध्यक्ष नवीन सिग्देलसहित विद्यालय व्यवसथापन समितिका पदाधिकारी, शिक्षक–अभिभावक संघका पदाधिकारीले पनि निर्वाचन कार्यक्रमको अवलोकन गरेका थिए । निर्वाचनको प्रमुख संगिता उप्रेती रहनु भएको थियो ।
