हेटौंडा : हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयमा दण्डबिना सिकाइ विषयक अन्तरक्रिया एवम् प्रतिबिम्बन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पूर्वप्राथमिक र प्राथमिक तहका शिक्षकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका विद्यालयको शैक्षिक विभाग प्रमुख, विषय पर्यवेक्षक र तहगत संयोजक तथा शिक्षकहरुले दण्डरहीत सिकाइका बारेमा जानकारी दिएका थिए । कक्षाकोठामा भयरहीत वातावरणमा सिकाउने तरिका, दण्डले बालबालिकामा पर्ने प्रभाव, कानुनी व्यवस्था र समाधानका विषयमा प्रतिबिम्बन, प्रश्नोत्तर, छलफल र असल अभ्यास आदानप्रदान गरिएको थियो । शिक्षकहरुबाटै सिक्ने सिकाउने गरी सञ्चालन गरिएको कार्यक्रम फलदायी भएको शिक्षकहरुले बताएका छन् ।
विद्यालयले विगतदेखि नै भयरहीत वातावरणमा सिकाइका लागि विभिन्न तालिम आयोजना गरेको भए पनि यस कार्यक्रमले पुनर्ताजगी भएको तालिम विभाग प्रमुख हर्कबहादुर कार्कीले जानकारी दिनुभयो । यसअघि माथिल्लो कक्षाका शिक्षकहरुसँग यस्तो कार्यक्रम गरिएकोमा यसपटक बाँकी शिक्षकहरुसँग कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।
शिक्षकबाट पनि कहिलेकाहीँ गल्ती हुनसक्ने भएकाले निरन्तर प्रतिबिम्बन गर्दै सिक्दै सिकाउँदै दण्ड बिना र भयरहीत वातावरणमा सिकाइ सम्भव हुने भएकाले कार्यक्रम महत्वपूर्ण रहेको बताइएको छ । घोषणाभन्दा कार्यान्वयन र निरन्तरता चूनौतिपूर्ण हुने भएकाले यस्ता कार्यक्रमलाई आगामी दिन पनि अझ प्रभावकारी ढंगबाट निरन्तरता दिने विद्यालयले जनाएको छ ।
