Home मुख्य समाचार बागमती प्रदेशमा १२७ वटा सडक पुल निर्माण हुँदै ९० करोड २५ लाख...

बागमती प्रदेशमा १२७ वटा सडक पुल निर्माण हुँदै ९० करोड २५ लाख बजेट विनियोजन

हेटौंडाः बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७७\०७८ मा प्रदेशभर १ सय २७ वटा सडक पुल निर्माणका लागि बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले प्रदेश भित्रका बहुवर्षीय योजना अन्तर्गतको सडक पुल निर्माण योजनाहरुमा ४० वटा सडक पुल चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको छ । बागमती प्रदेश सरकारले गत वर्ष ३२ वटा सडक पुलहरु निर्माण सम्पन्न गरेर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एकैसाथ उद्घाटन गर्नुभएको थियो । प्रदेशका २२ वटा सडक पुल भने गत वर्षबाटै निर्माणाधीन रहेको बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सडक महाशाखाका प्रमुख नविन कुमार सिंहले जानकारी दिनुभयो ।

बागमती प्रदेश सरकारले केन्द्रबाट आएको सशर्त अनुदान तर्फको ३६ करोड ५७ लाख बजेटबाट प्रदेशको ५७ वटा सडक पुल निर्माणका लागि बजेट विनियोजन गरेको छ । जसमा मकवानपुर जिल्लाको १० वटा सडक पुलहरु निर्माण हुने भएका छन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिका-५ को ज्यामिरे खोलामा सडक पुल निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । हेटौंडा उपमहानगरपालिकाको कुखरेनी खोलामा सडक पुल निर्माणका लागि ६२ लाख ५० हजार, मकवानपुरकै आँपखोल्सी सडक पुलका लागि १० लाख, मकवानपुरगढी गाउँपालिकाको सिमलीटार पुलका लागि १ करोड ३५ लाख, कैलाश गाउँपालिकाको कालीखोला सडक पुलका लागि १५ लाख, थाहा नगरपालिकाको दामन–डाँडाबास सडकखण्डमा पर्ने भुग्देल खोला पुल निर्माणका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

त्यस्तै बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालयले दिएको जानकारी अनुसार मकवानपुरको कालिकाटार–चुनियाँ-नामटार सडकखण्डमा पर्ने कालिखोला पुलका लागि १ करोड, हेटौंडा उपमहानगरपालिकाको साविकको वडा नम्बर २० र २२ जोड्ने कर्राखोला पुलका लागि ५० लाख, ईन्द्रसरोवर गाउँपालिकाको कुलेखानी–एकान्तकुना–सुलिकोट सडकमा पर्ने सिस्नेरी खोलामा सडक पुल निर्माणका लागि १५ लाख र मकवानपुरको राईगाउँ र काभ्रेपलाञ्चोकको तालढुङा जोडने सिक्रेदोभान पुलका लागि ३ करोड ९ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक सहदेब भण्डारीले जानकारी दिनुभयो ।

बागमती प्रदेश सरकारले आन्तरिक तर्फको ५३ करोड ६८ लाख बजेट पुल निर्माणका लागि विनियोजन गरेको छ । जस अन्तर्गत प्रदेशले ७० वटा सडक पुलका लागि बजेट विनियोजन गरेको हो । यसमा मकवानपुर जिल्लाको ५ वटा पुल निर्माणका लागि बजेट विनियोजन भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ र १२ जोड्ने गरी राप्ति नदि पुल निर्माणका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । त्यस्तै मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर १ मा पर्ने याङर्‍याङ खोला सडक पुलका लागि ४० लाख, भिमफेदी वडा नम्बर ३ र ४ जोड्ने गोल्पिङवेसी–राप्ति–आँपचौर सडक पुलका लागि ३० लाख, देउराली मोड–आर्पटे-भैसे सडकको डेडखोलामा सडक पुलका लागि ७५ लाख, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मा पर्ने लालझाडी सडक पुलका लागि १ करोड रुपैयाँ विनियोजन भएको छ भने मकवानपुरको थाहा नगरपालिकामा पर्ने ईन्द्रायणी चौर-सतिघाट सडक पुलका लागि २ करोड रुपैयाँ बजेट विनियोजन भएको निर्देशनालयले जानकारी दिएको छ ।

झोलुङ्गे पुलका लागि ८ करोड ९६ लाख
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा झोलुङ्गे पुल निर्माणका लागि पनि बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारले प्रदेशभर ११ वटा झोलुङ्गे पुल निर्माणका लागि ८ करोड ९६ लाख बजेट विनियोजन गरेको छ । बागमती प्रदेश सरकारले यसअघिको कुनै पनि आर्थिक वर्षमा झोलुङ्गे पुल निर्माणका लागि बजेट विनियोजन गरेको थिएन ।

बागमती प्रदेश सरकारको नयाँ कार्यक्रम भएको बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । मकवानपुर जिल्लामा भने चालु आर्थिक वर्ष २०७७\०७८ मा २ वटा झोलुङ्गे पुलका लागि बजेट विनियोजन भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ९ को धार्के दोभानको इपा खोलाको झोलुङ्गे पुल निर्माणका लागि ५० लाख र मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर १ र सिन्धुली जिल्लाको हरिहरापुरगढी गाउपालिका वडा नम्बर २ जोड्ने बागमती खोला झोलुङ्गे पुलका लागि १ करोड ५० लाख बजेट विनियोजन भएको बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत यातायात पूर्वाधार निर्देशनालयका इन्जिनियर विजय केसीले जानकारी दिनुभयो ।

Exit mobile version