Home मुख्य समाचार यातायात व्यवसायी र यातायात मजदुर आन्दोलित, आजदेखि सार्वजनिक यातायातका साधन नचल्ने

यातायात व्यवसायी र यातायात मजदुर आन्दोलित, आजदेखि सार्वजनिक यातायातका साधन नचल्ने

आन्दोलनका कार्यक्रमबारे जानकारी गराउँदै यातायात व्यवसायीहरु ।

हेटौँडा: गण्डकी प्रदेश सरकारले निजी सवारी साधनलाई पनि सार्वजनिक यातायातका साधनलाई जस्तै सञ्चालनको अधिकार दिने व्यवस्था गरेको विरोधमा आज सोमबारदेखि देशभरका यातायात व्यवसायी र यातायात मजदुरले आफ्ना साधन नचलाउने घोषणा गरेका छन् । विद्यमान संघीय कानून विपरित हुने गरी प्रदेश सरकारले कानून लागू गरेको दावी गर्दै व्यवसायीले गण्डकी प्रदेश सरकारले जस्तै अन्य प्रदेशले पनि कानून ल्याउने आशंकासहित आन्दोलनको घोषणा गरेका हुन् ।

आइतबार हेटौँडामा यातायात व्यवसायी र यातायात मजदुरले संयुक्तरुपमा पत्रकार सम्मेलन गरेर सोमबारदेखिको आन्दोलनको कार्यक्रमबारे जानकारी दिएको छ । निजी यातायातका साधनको तुलना सार्वजनिक यातायातका साधनले तिर्नुपर्ने राजश्व र प्राप्त गर्ने सञ्चालन अनुमतिको तुलना महंगो र जटिल भएको उल्लेख गर्नुहुँदै नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय समिति सदस्य गोकर्णप्रसाद पराजुलीले निजी क्षेत्रको लगानी रहेको सार्वजनिक यातायात सेवालाई धरासायी बनाउने गरी सरकारले निजी सवारी साधनलाई कानून विपरित अधिकार दिन खोजेपछि आन्दोलन गर्न बाध्य भएको बताउनुभयो ।

व्यवसायीको आन्दोलनअन्तर्गत सोमबारबाट सार्वजनिक सवारीअन्तर्गत ठूला–साना सबै सवारीका साधन नचल्ने बताइएको छ । ‘यसपटक हामी व्यवसायी र मजदुर एक ठाउँमा छौं । ठूला सवारी साधन मात्रै नभई तीन पाङ्ग्रे साना सवारीका साधन पनि सञ्चालन हुनेछैन’ पत्रकार सम्मेलनमा पराजुलीले भन्नुभयो । गण्डकी प्रदेश सरकारले लागू गरेको कानून अहिले यात्रुवाहकको हकमा मात्रै भए पनि क्रमशः मालवाहकमा पनि सोही कानून विस्तार गर्ने र उद्योगीले आफ्नै साधनमार्फत ढुवानी गर्ने अवस्था सिर्जना गर्ने प्रयास भइरहेको पराजुलीको दावी छ ।

यातायात व्यवसायी र यातायात मजदुरले विभिन्न सात बुँदे माग राखेर आन्दोलन घोषणा गरेका छन् । यातायात व्यवसायीले सर्वोच्च अदालतबाट संघ, संस्था दर्ता ऐन २०३४ अन्तर्गत रहेको यातायात व्यवसायी संघको सम्पत्ति गर्ने आदेश गृह मन्त्रालयले कार्यान्वयन गर्नुपर्ने, मालबाहक सवारी साधनमा भारवहन क्षमताको कडाईका साथ अनुगमन गर्नुपर्ने, सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध हुनुपर्ने व्यवस्था गर्नुपर्ने, यातायात प्राधिकरण गठन गर्नुपर्ने, भारतीय मालबाहक तथा यात्रुवाहक सवारी साधनलाई नेपालको भन्सार नाकामै ७२ घण्टे सुविधा पाउने असमान नीति खारेज गर्नुपर्ने व्यवसायीको माग छ ।

सार्वजनिक यातायात बचाउ केन्द्रीय महासंघहरु, मजदुर संघ÷संगठनहरुको केन्द्रीय संघर्ष समिति नै गठन गरेर व्यवसायी र मजदुर आन्दोलित भएका छन् । आन्दोलनमा ४ वटा यातायात महासंघ र ४ वटा यातायात मजदुर संगठनहरुको सहभागिता रहेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संगठन र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन समाजवादी आन्दोलनको घटक संगठनको रुपमा रहेको छ ।

Exit mobile version