Home खेलकुद यु–१६ प्रदेश टिममा मकवानपुरका ३ खेलाडी

यु–१६ प्रदेश टिममा मकवानपुरका ३ खेलाडी

बागमती प्रदेश क्रिकेट संघले सार्वजनिक गरेको यु–१६ बागमती प्रदेश टिमको सूचि ।

हेटौँडा : बागमती प्रदेश क्रिकेट संघले जेठ १९ गतेदेखि सुर्खेतमा हुने यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेशको टिम घोषणा गरेको छ । बिहीबार घोषणा गरिएको टिममा मकवानपुरका ३ खेलाडी समेटिएका छन् । मकवानपुरका कप्तान रोहित ठाकुरसहित शिवशक्ति महतो र आशिक अधिकारी समेटिएका छन् । यस्तै वैकल्पिक सूचिमा जमल रैन पनि अटाएका छन् ।

प्रादेशिक छनोट प्रतियोगितामा पाँच वटै खेलमा स्पष्ट जित निकालेको मकवानपुरका लागि शिवशक्ति महतोले उत्कृष्ट प्रदर्शन गरेका थिए । मकवानपुरका शिवशक्ति महतो प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदा मकवानपुरका कप्तान रोहित ठाकुर उत्कृष्ट बलर घोषित भएका थिए । छनोट प्रतियोगिताको पाँच वटै खेल खेलेका शिवशक्ति महतोले ३२७ रन जोड्नुका साथै ७ विकेट लिएका थिए । मकवानपुरका कप्तान रोहित ठाकुरले ५ खेलमा १३ विकेटसहित १५८ रन जोडेका थिए । विकेट किपर आशिक अधिकारीले पनि १७७ रन जोडेका थिए ।

मकवानपुरले छनोट प्रतियोगिताको पहिलो खेलमा काठमाडौंलाई ४० रनले पराजित गरेको थियो भने दोस्रो खेलमा भक्तपुरलाई ६ विकेटले पराजित गरेको थियो । यस्तै तेस्रो खेलमा ललितपुरलाई ८६ रनले पराजित गरेको थियो भने चौथो खेलमा नुवाकोटलाई ३० रनले पराजित गरेको थियो । अन्तिम खेलमा मकवानपुरले चितवनलाई १२९ रनले पराजित गरेको थियो ।

सुर्खेतमा यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोेगिता जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।

Exit mobile version