
हेटौँडा : बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार बसेको प्रदेशसभा बैठकमा सरकारका आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
प्रदेश प्रमुख देवकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै संविधान प्रदत्त तथा कार्यविस्तृतीकरण प्रतिवेदनमा उल्लिखित प्रदेशको एकल अधिकार कार्यान्वयनमा विशेष जोड दिएको उल्लेख गर्नुभयो । संविधानको व्यवस्था भए अनुसारको साझा अधिकारको कार्यान्वयनमा समन्वय र सहकार्य गर्न नीति कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेशका सबै क्षेत्रगत नीति कार्यक्रम कार्यान्वयनमा विपद् संवेदनशीलतालाई आत्मसात गर्दै तहगत सरकारको समन्वयमा भौतिक संरचनाको पुनर्निर्माण र पुनःस्थापनालाई प्राथमिकता दिने जनाएको छ । सरकारले भौतिक पूर्वाधार निर्माणमा एकद्वार प्रणाली अवलम्बन गर्ने, बहुबर्षीय योजनाहरुको मापदण्ड निर्धारण गरी आर्थिक वर्षको पहिलो चौमासिकभित्रै स्रोत सुनिश्चितता प्रदान गर्ने जनाएको छ ।
प्रदेश गौरवका आयोजना, बहुवर्षीय आयोजना र क्रमागत आयोजनाहरु तोकिएको समयभित्रै सम्पन्न गर्ने, आयोजना छनौट पद्दतिलाई व्यवस्थित र पारदर्शी बनाउने तथा बजेट निर्माण र कार्यान्वयन प्रक्रियामा सुशासन कायम गर्न प्रदेश आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीलाई तहगत आवद्धता कायम गरी सञ्चालन गर्ने सरकारको नीति कार्यक्रम रहेको छ । प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा समेत आयोजना पहिचान र प्राथमिकीकरण गर्ने, प्रदेशमा लगानी सम्भावना पहिचान गर्न लगानी सम्मेलन आयोजनाका लागि नीतिगत, कानूनी तथा संरचनागत व्यवस्था गर्ने, सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको साझेदारी एवम् उत्पादन र रोजगारी सृजना गर्न निजी क्षेत्रको नेतृत्वदायी भूमिका सुनिश्चिताको गर्न नीतिगत तथा संरचनागत सुधार गर्ने, प्रदेशको पूर्ण वा सहलगानीमा निर्माण भएका पूर्वाधार स्थानीय तहलाई हस्तान्तरण हुने र आम्दानीको निश्चित प्रतिशत प्रदेशले प्राप्त गर्ने व्यवस्था गर्ने । सोही प्रकृतिका आयोजना÷परियोजना निर्माणलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने सरकारको नीति कार्यक्रम रहेको छ ।
राष्ट्रिय प्राथमिकता प्राप्त परियोजना, प्रदेशको प्रशासनिक भवन तथा आवासको निर्माण कार्य सुरु गर्ने, प्रदेशको विद्यमान संरचना र जनशक्तिको पुनरावलोकन गरी अनावश्यक संरचना खारेज गर्ने, गाभ्ने र छरितो बनाउने, प्रदेश सरकारको प्रशासनिक तथा अनुगमन कार्यलाई विद्युतीय प्रणालीमा आधारित बनाउने, उच्च प्रतिफलयुक्त र आन्तरिक आयमा योगदान गर्ने आयोजनाको छनौट तथा प्रभावकारी कार्यान्वयन गरी उत्पादन अभिवृद्धि र रोजगारीको अवसर सिर्जना गर्ने, वित्तीय अनुशासन अभिवृद्धि गर्दै अनुत्पादक चालु खर्चमा कटौती गरी सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने, प्रदेशको राजश्वको दायरा विस्तार गर्दै राजश्व चुहावट नियन्त्रण गर्न अन्तरप्रदेश समन्वय मार्फत करका दरहरुमा एकरुपता कायम गर्ने, प्रादेशिक सडक यातायात गुरुयोजना अद्यावधिक गरी प्राथमिकताका आधारमा प्रादेशिक लोकमार्ग, प्रादेशिक मार्गहरु विकास, विस्तार र स्तरोन्नति गर्ने, नयाँ सडकका ट्रयाक खोल्ने कार्यलाई निरुत्साहित गर्ने, सडक बोर्ड ऐनलाई समयानुकूल परिमार्जन गर्न नेपाल सरकारसंग पहल गर्ने, प्रदेशस्तरीय पूर्वाधार गुणस्तर प्रयोगशालाहरु निर्माण गर्ने सरकारको नीति कायक्रममा उल्लेख छ ।
सरकारी भवनहरूको निर्माणमा एकद्वार प्रणाली लागू गर्ने, ‘एकीकृत बस्ती, समृद्ध शहरको नीति’ अन्तर्गत भौतिक पूर्वाधारका क्षेत्रमा सार्वजनिक तथा निजी लगानीलाई प्रवद्र्धन गर्दै एकीकृत बस्ती विकास गुरुयोजना तर्जुमा गरी प्रदेशभित्रका उदीयमान शहर स्थापना गर्ने कार्यक्रम अघि बढाउने सरकारको तयारी रहेको छ । राइड सेयरिङलाई कानून तर्जुमा गरी प्रभावकारी नियमन तथा राजस्वको दायरामा ल्याउने, निर्णय प्रक्रिया र अनुगमन तथा मूल्याङ्कन प्रणालीमा कृत्रिम बौद्धिकता (ए.आई.) र सूचना प्रविधिको प्रयोग बढाउने, विद्युतीय रुपान्तरण (डिजिटल ट्रान्सफर्मेशन) कार्ययोजना तयार गरी प्रदेशलाई चाहिने विभिन्न प्रणालीहरुको चरणबद्ध पहिचान, विकास तथा आन्तरिकीकरण गरी प्रशासनिक सुधार एवम् गतिशीलता प्रदान गर्ने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिई प्रादेशिक रणनीतिक कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने, नमूना वडा समाजवादी कार्यक्रम र स्थानीय तहमा नवप्रवर्तन प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने सरकारको योजना रहेको छ ।
नीति तथा कार्यक्रमको पूर्णपाठ